शान्ति प्रक्रिया सकियो भनेकै छैनौं : प्रचण्ड

0

काठमाण्डौंसत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा भएको आफूले कहिल्यै नभनेको दाबी गरेका छन् । शान्ति प्रक्रियाका महत्वपूर्ण काम संक्रमणकालीन न्याय निरुपणको विषय बाँकी रहेको र त्यसलाई पूरा गर्न एन संशोधन गरेर भएपनि पनि अगाडि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

राजधानीमा बिहिबार राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको ‘संक्रमणकालीन न्याय निकासको लागि अन्तरसंवाद‘ कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धकालीन सबैखाले अपजस आफूले लिने र जहाँ उभिनु परेपनि खडा जवाफ दिने धारणा राखेका छन् ।

बालक उमेरमै आफूलाई प्रचण्ड –बाबुरामले जनसेनामा हिडाएर उच्च जोखिमका काम, सूचना र बारुदगोला बोक्ने भरिया बनाएर युद्ध अपराध गरेको भन्दै देशभित्र न्याय नमिले अन्तर्राष्ट्रिय हदालत दुवै जनालाई उभ्याउने चेतावनी दिँदै आइरहेका समयबीच अध्यक्ष प्रचण्डले सो धारणा राखेका हुन् ।

द्वन्द्वका मुख्य पाटो संक्रमणकालीन न्याय दिने विषयसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको नेतृत्व छिट्टै टुंगो लगाउने उनले बताए ।

कार्यक्रम भएको कमलादीस्थित प्रज्ञा भावनको मुख्य हलमा सयौं संख्यामा उपस्थित द्वन्द्वपीडितलाई सम्बोधन गर्नै उनले राज्य वा माओवादी पक्षबाट द्वन्द्वका बेला मारिएका वा बेपत्ता वा घाइते सबैलाई ऐन संशोधन गरेरै भएपनि न्यायोचित सम्बोधन गर्न आफू सधैं तयार रहेको उनको भनाई थियो । बहिर्गमित बाल जनमुक्ति सेनाको विषय गम्भीर रहेको बताउँदै यसलाई संक्रमणकालीन न्यायिक विधिबाटै समस्या समाधान गरिने उनले बताए ।

केही भित्रै दुवै आयोगले नेतृत्व पाउने र पीडितहरुसँग सात वटै प्रदेशमा सक्षात्कार कार्यसहित छलफल चलाउने र सुझाव लिने काम शुरु गरिने आश्वसन उनले दिए । कार्यक्रममा दर्शकदीर्घमा रहेका पीडितहरुले उनलाइ न्याय कहिले मिल्छ ? भन्दै बारम्बार प्रश्न गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने कार्यक्रममा प्रचण्ड आउनुपूर्व द्वन्द्वपीडित घाउमा मलमपट्टि लगाउन आफू सदैव तयार रहेको धारणा राखेर बाहिरिएका थिए । देउवा बाहिरिएपछि दर्शकदीर्घाबाट विरोध भएको थियो । देउवा द्वन्द्वका बेला सरकारका प्रधानमन्त्री थिए ।

बहिर्गमति बाल जनमुक्ति सेनाका ईन्चार्ज लेनिन विष्टले आफूहरुले जनयुद्धमा भोगेको अन्यायबारे देशभित्र न्याय नमिले दोषीलाई अन्तर्राष्ट्रिय अदालत हेगमा उभ्याइछाड्ने धारणा राखे ।

आयोगका अध्यक्ष अनुपराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, सत्तारुढ नेकपाका नेता माधवकुमार नेपाललगायतले शान्ति प्रक्रियाका अधुरा काम चाँडै पूरा गर्नुपर्ने धारणा राखेका थिए । पीडित पक्षको प्रनितिधित्व गर्दै केहीले मञ्चबाटै पीडा सुनाएका थिए ।

Leave A Reply

Your email address will not be published.