प्रचण्डको आत्मालोचना : साँच्चिकै कम्युनिष्ट हुन सकिएन

0

काठमाण्डौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवादी क्रान्तिको मुलभूत उद्देश्य सकेर आफूहरु समाजवादतर्फ यात्रामा अगाडि बढिरहेको बताएका छन् ।

पार्टीकी नेतृ साहना प्रधानको पाँचौं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई पार्टी मुख्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रचण्डले अब विचार, राजनीति, संगठन र विचारको आचरण के हुने भन्ने विषयमा प्रष्ट हुने चुनौती आएको बताए ।

प्रचण्डले पार्टी एकता गर्नु अगाडि प्रतिस्पर्धामा प्रवेश गरेपछि शासन सत्तामा पुग्ने आधार तयार भएर शासन सत्तामा पुगेको उल्लेख गर्दै भने ‘कता कता हामी आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहा नै नपाइ स्खलित हुँदै जाने क्रम सुरु भयो।’

प्रचण्डले पार्टीको नाम अहिले पनि कम्युनिष्ट पार्टी नै भएको बताउँदै प्रश्न गरे ‘तर साँच्चै हामी अहिले कम्युनिष्ट जस्तै छौं त ?’ प्रचण्डले आफूहरुभित्रकै कमजोरी खोज्नुपर्नेतर्फ संकेत गर्दै भन्नका लागि समाजवादीको यात्रा सुरु गर्ने भने पनि ‘के हामी समाजवादीको यात्राका लागि योद्धा जस्तै छौं त ? या हामी विस्तारै विस्तारै कांग्रेस जस्ता वा हिजोको निरंशुकताका जस्ता पदको निम्ति जनतालाई भेद गर्न त थालेका छैनौं?’ भनी प्रश्न गरे ।

कम्युनिष्ट समानताका लागि, गरिबका निम्ति, समाजका निम्ति भनेर जनताले भोट दिएको बताउँदै प्रचण्डले आचरण हेर्दा हिजोको पंचायतजस्तै देखिएको टिप्पणी गरे । हिजोका दिनमा जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकता देखिँदा त्यसका लागि आचरण निष्ठा र आदर्श प्रदर्शन गरेको बताउँदै उनले जनताले आफूहरुलाई भरोसा पनि गरेर क्रान्ति पनि भएको स्मरण गरे ।

अब समाजवादको आधार निर्माण गर्ने वा समाजवादी क्रान्तिको लागि आवश्यक पर्ने विचारको स्पष्टतामा कमी भएको उल्लेख गरे । विचार अनुसारको आचरण व्यवहार र क्रियाकलाप हुनेतिर अगाडि बढेको छ कि वर्ग विभेदलाई मेटेर वर्ग समन्वयतर्फ अघि बढिएको छ भन्ने आजको मुख्य प्रश्न भएको उनले बताए ।

अहिले अर्को एउटा अभियान, अर्को एउटा मिशन र त्यो मिशन पूरा गर्न सम्पूर्ण तागत लगाउने समय भएको प्रचण्डको भनाइ थियो। संकल्प र एकता तयार गर्न विशाल फौज निर्माण गर्ने र अगाडि जाने आवश्यकता भएको प्रचण्डले बताए । यसो हुन नसकेमा पूर्वी युरोपका पार्टीभन्दा धेरै फरक नहुने चेतावनी दिए ।

हिजोका राजा महाराजाले पनि विकासको मूल फुटाउने कुरा गरेको भन्दै प्रचण्डले भने ‘विकासको मूल त फुटेन अर्कै फुटयो।’ नेकपालाई भरोसा गर्ने करोडौं जनता भएको र ती जनताले नेकपालाई भरोसा गरेर यो ठाउँमा ल्याइपुर्याएको भन्दै प्रचण्डले यो सानो कुरा नभएको बताए ।

‘नेतृत्वले पनि कम्म्युनिष्ट आन्दोलनकै भविष्यका लागि भनेर, राष्ट्र र राष्ट्रिय एकताका लागि भनेर एकता गरेको हो’ प्रचण्डले भने ‘हामीले पद र प्रतिष्ठाका लागि तँछाड र मछाड गरौं गुट नै गुट बनाऔं भनेर एकता गरिएको होइन । एउटा नयाँ आदर्शतिर जानुपर्छ भनेर एकता गरिएको उल्लेख गर्दै उनले भने ‘आफू र व्यक्तिका लागि भएका कुरा त्यागौं । तर कम्युनिष्ट आन्दोलनलाई नयाँ निष्कर्षमा पुर्याऔं ।’

Leave A Reply

Your email address will not be published.