चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीचको सहमति कार्यान्वयन हुनेमा शंका

0

काठमाण्डौं – चिकित्सा शिक्षामा मेडिकल कलेजहरुले अवैध शुल्क लिएर विद्यार्थीमाथि आर्थिक लुट मच्चाएको जनाउँदै त्यसलाई खारेज गरेर फिर्ता गर्न र चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउन माग गर्दै भदौ ५ बाट घोषित ‘चिकित्सा शिक्षा संघर्ष अभियान’ ले सफलता हासिल गर्ने क्रम शुरु भएको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द हुन् । उनीहरु अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् । साथै विप्लवका पुत्र हुन् । उनले भदौ ५ गते काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर ‘सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ’ नारासहित ४ बुँदे संघर्षको कार्यक्रम घोषणा गरेका थिए । घोषणासँगै मेडिकल कोर्स अध्ययनरत सयौं विद्यार्थी सहभागी हुँदै आन्दोलित भएका थिए ।

घोषित कार्यक्रम अनुसार अभियानमा आवद्ध पीडित विद्यार्थीहरुले भदौ २५ गते अवैध शुल्क उठाइरहेको चितवन मेडिकल कलेज (सीएमसी) परिसरमा कालो झण्डासहित प्रदर्शन गरेका थिए । त्यहाँबाट ७ छात्रासहित र संयोजक चन्दसमेत १८ जनालाई चितवन प्रहरीले गिरफ्तार २४ घण्टासम्म हिरासतमा राखेको थियो ।

सयौंको संख्यामा चिकित्सा विद्यार्थीहरु आन्दोलन गरेकोमा ११ दिनपछि शनिबार सीएमसी आन्दोलित विद्यार्थीसँग झुक्न बाध्य भएको छ । प्रमुख जिल्ला अधिकारी चितवनको रोहवरमा कलेज र आन्दोलित विद्यार्थीबीच शनिबार भएको वार्तापछि कलेजले अवैध रुपमा लिएको शुल्क फिर्ता गर्ने सहमति गरेको हो ।

कलेजले अवैध रुपमा ६ लाखदेखि २० लाख रुपैयाँसम्म विद्यार्थीबाट असुलेको थियो । उक्त रकम महिना दिनभित्र फिर्ता गर्ने लिखित सहमति पत्रमा कलेज प्रशासनले गरेको छ । सीएमसीले त्रिभुवन युनिभर्सिटी (टीयू)को एमबीबीएस कार्यक्रम चलाउँदै आइरहेको छ । शनिबारै टीयू एक प्रेस विज्ञप्ति जारी गरेर २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्ले तोकेको बाहेक अवैध रुपमा लिएको बढी शुल्क फिर्ता गर्न सीएमसीसँग शुक्रबार आग्रह गरेको थियो । त्यसअघि सीमएसीले राजनीतिकअभिष्ट पूरा गर्ने उद्देश्यले गलत तत्वहरुले आन्दोलनको नाममा वितण्डा मच्चाएको भन्दै कडा अभिव्यक्ति दिएको थियो । त्यसपछि वातावरण संकटपूर्ण बन्दै गएको थियो ।

छलफलबाट शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एकएक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गर्ने सहमति भएको छ । कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउनेछ । आगामी कार्तिक १८ गतेभित्र शुल्क फिर्ता गरिसक्नुपर्ने सहमति भएको छ ।

सहमतिसँगै आन्दोलन पनि तत्कालका लागि फिर्ता लिएको छ । तर सहमति कार्यान्वयन हुनेमा धेरैले शंका गरेका छन् । किनकि चौतर्फीको दबाब टार्न मात्र सीएमसीले सहमति गरेको टिप्पणी शुरु भएको छ ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले सिएमसी बढी असुल गरेको शुल्क फिर्ता गर्न तयार भएकोले आफूहरुले आन्दोलन फिर्ता गरेको बताए । सहमति कार्यान्वयन गर्न सीएमसीले अटेर गरे पुनः कडा आन्दोलन थाल्ने चेतावनी संयोजक चन्दले दिए ।

सीमएमसीले कडा अवभिव्यक्ति दिएको भोलिपल्टै विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले शुक्रबारै एक प्रेस विज्ञप्ति जारी गरेर सीएमसीले आफ्नो लुट र बदमासीलाई ढाकछोप गर्ने उद्देश्यले विषायन्तर गरेर विज्ञप्ति जारी गरेको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीसँग असुलेको रकम फिर्ता नगरे पार्टीले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।

प्रकाश चन्द महासचिव रहेको जनस्वास्थ्यकर्मी महासंघ विप्लव नेकपानिकट स्वास्थ्यकर्मीहरु आवद्ध सांस्थ्य संगठन हो ।

Leave A Reply

Your email address will not be published.