युएइसँग नेपाल २० रनले पराजित

0

काठमाडौँ, २२ असार । आइसिसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग डकवर्थ लुइसको आधारमा २० रनले पराजित भएको छ । आयरल्यान्डको स्टोरमोन्टस्थित सिभिल सर्भिस क्रिकेट क्लब मैदानमा भएको प्रतियोगितामा टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा सात विकेट गुमाउँदै ८४ रनको सामान्य योगफल तयार पारेको थियो । नेपालले टस जितेर व्याटिङ नगर्दै वर्षा भएपछि २० ओभरको खेललाई १८ ओभरमा घटाइएको थियो ।
पचासी रनको लक्ष्यका साथ मैदान उत्रेको युएइले १४.२ ओभरमा दुई विकेट गुमाएर ८१ रन बनाउँदा पुनः वर्षा भएपछि डकवर्थ लुइसको आधारमा युएइ विजयी भएको हो । नेपालका जितेन्द्र मुखिया र सागर पुनले एक–एक विकेट लिएका थिए ।
प्रतियोगितामा नेपाली ब्याट्सम्यान शरद भेषवाकरले अविजित ३८ रनको योगदान दिए भने उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १३-१३ रन जोडे । सोमपाल कामीले सात तथा कप्तान पारस खड्काले पाँच रन जोडे । नेपालका ओपनर जोडी सुवास खकुरेल तथा सागर पुनले एक-एक रन मात्र बनाए । यही असार २४ गतेदेखि सञ्चालन हुने विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको लागि नेपालले उक्त अभ्यास खेल खेलेको हो ।

Leave A Reply

Your email address will not be published.