विप्लवले भने – भ्रष्टचार र राष्ट्रघातविरुद्ध संघर्षमा अप्ठ्यारो नमानी सहयोग गर्नुस्

0

काठमाण्डौं – सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दुई महिनादेखि आर्थिक अभियान चलाइरहेको छ । सोही अभियानमा आर्थिक सहयोगका लागि भन्दै विप्लव स्वयम्को रातो मसीको हस्ताक्षर रहेको पार्टी केन्द्रीय समितिको लेटरप्याडमा पत्र काटिएको छ ।

केही अनलाइन संचारमाध्यमबाट सार्वजनिक भएको उक्त ‘आर्थिक सहयोग सम्बन्धमा’ पत्रमा सहयोगदाताको नाम, ठेगाना र मिति भने खाली छ । हस्ताक्षर रातो मसीले गरिएको छ । पत्रलाई साँचो मान्ने हो भने, पत्रमा विद्यमान सत्तालाई ‘दलाल पूँजीवादी सत्ता’को संज्ञा दिइएको छ भने सरकारले दलाल, भ्रष्टाचारी र कमिशनखोरको स्वार्थको रक्षा गरिरहेको आरोप लगाइएको छ ।

साथै पार्टीमाथि प्रतिबन्ध लगाउनुमा सरकारको राष्ट्रघाती र भ्रष्टचारीलाई संरक्षण गर्ने स्वार्थ जोडिएको बताउँदै दलाल पूँजीवादी सत्ता अशान्ति, कुशासन, भ्रष्टचार, राष्ट्रघात, कुसँस्कार विकृतिको पोको भएको जिकिर विप्लवले पत्रमा गरेका छन् । सो पोकोलाई नमिल्काएसम्म वैज्ञानिक समाजवाद स्थापना हुन नसक्ने र श्रमिक, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी कम्युनिस्ट र मुलुकले नै नयाँ र सुन्दर भविष्य प्राप्त गर्न नसक्ने उल्लेख पत्रमा गरिएको छ ।

पार्टीले जनताको साथसहयोगमा जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्न संघर्ष र सेना संचालन गरिरहेको र त्यसनिम्ति अप्ठ्यारो नमानी सम्भव भएसम्मको आर्थिक सहयोग गर्न सबैसँग विनम्र अनुरोध पत्रमा गरिएको पाइन्छ । आर्थिक सहयोग गर्दा गर्नेलाई आर्थिक रकम घटेपनि परिवर्तनकारी आन्दोलनमा क्षति नभई योगदान नै पुग्ने विचार व्यक्त गरिएको छ ।

चन्द आतंक मच्चाएको भनेर सरकारले लगाएको आरोपलाई पत्रमा खण्डन गरिएको छ भने जनताकै आग्रह र सूचनाका आधारमा भ्रष्टचारी, कमिशनखोर र राष्ट्रघातीमाथि पार्टीले कारवाही चलाइरहेको समेत पत्रमा उल्लेख छ । कारवाही निरन्तर जारी राख्ने पनि पार्टीको दाबी छ । पार्टीसँग ‘सेना’ रहेको कुरा पत्रमा प्रष्ट लेखिएको छ ।

गत साउन २२ मा सोही पार्टीका प्रवक्ता प्रकाण्ड काठमाडौंको चाल्नाखेलबाट गिरफ्तार पर्दा सरकारले बलजफ्ती चन्दा उठाएको आरोप लगाइएको थियो । त्यसपछि महासचिव विप्लवले गिरफ्तारविरुद्ध एक प्रेस विज्ञप्ति जारी गर्दै साउ २९ गतेका लागि नेपाल बन्दको घोषणा गरेका थिए । सोही बेला विप्लवले जनता र देशको परिवर्तनका लागि क्रान्ति गर्ने पार्टीका निम्ति चन्दा उठाउनु नैसर्गिक अधिकार भएको बताएका थिए ।

५१ दिन हिरासत बसाईपछि प्रवक्ता प्रकाण्ड सर्वोच्च अदालतको आदेशमा रिहा भए । त्यसको महिनापछि विप्लव नेकपाले घोषित रुपमै विशेष आर्थिक संकलन अभियानको घोषणा गरेको थियो । प्रवक्ता प्रकाण्डले गएको साउन १८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै देशको विद्यमान राजनीतिक, आर्थिक, साँस्कृतिक संकटको समाधान क्रान्तिले मात्र दिने भन्दै अभियानलाई सफल बनाउन सबै पक्षसँग अपिल गरेका थिए । अभियान आउँदो कार्तिक महिनासम्म चल्ने समेत विज्ञप्तिमा उल्लेख थियो ।

के हो सेनाको कुरा ?

गएको जेठ ७ गते विप्लव नेकपा भोजपुरका यसवा नेता तीर्थराज घिमिरेर ‘राजु’लाई प्रहरीले गोली हानी हत्या गरेपछि विरोधमा जेठ १३ गतेका लागि पार्टीद्वारा घोषित नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा भएको विष्फोटमा परी पार्टीका चार कार्यकर्ताको ज्यान गएको घटनालाई लिएर जेठ १४ गते प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्रीले ‘जनसेना’बारे औपचारिक रुपमा मुख खोलेका थिए ।

राजुको मृत्यु भीडन्तबाट नभई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्ने विषयलाई लिएर सांसदहरुले गृहमन्त्री थापाको जवाफ माग गरेका थिए । जवाफ दिँदै गृहमन्त्री थापाले राजुको मृत्यु दोहोरो भीडन्तबाट भएको र विप्लव नेकपाले चार कम्पनी जनसेना र जनसरकार गठन गरिसकेको जानकारी संसदलाई दिएका थिए । यसरी विप्लव नेकपासँग सेना छ भन्ने कुराको सरकारको स्वीकारोक्ति यो ने पहिलो थियो । तर हतियार के कति छन् भन्ने विषयमा सरकारले अझै मौन रहेको छ ।

विप्लवले पनि विष्फोट घटनालाई ‘आन्तरिक दुर्घटना’को संज्ञा दिँदै त्यसबारे सत्यतथ्य जनतासामू चाँडै ल्याउने एक प्रेस विज्ञप्तिमार्फत बताएका थिए । विष्फोटमा ज्यान गुमाएका चारै जनालाई सहिद घोषित गरेका थिए ।

त्यसअघिसम्म सेना गठनबारे संचारकर्मीको जिज्ञासामा विप्लवले जनयुद्धका पार्टी र सेनाका प्रमुख प्रचण्ड भएको र उनैले सबै सेना हतियार सरकारलाई बुझाइसकिएको बताइसकेको भन्दै त्यसबारे प्रचण्डसँगै प्रश्न गर्न भन्दै आएका थिए ।

त्यसअघि फागुन २८ मा विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेसँगै प्रधानमन्त्री केप शर्मा ओलीले चैत महिनाभित्र सम्पूर्ण हितयार बुझाउन विप्लवलाई समयसीमा तोकेका थिए । ‘चैत महिनाभित्र सबै नबुझाए कसरी खोस्नुपर्छ सरकारलाई राम्ररी थाहा छ’ प्रधानमन्त्री ओलीले एक सार्वजनिक मञ्चबाट भनेका थिए । त्यसको करिब डेढ महिना गृहमन्त्री थापाले विप्लवले चार वटा कम्पनी स्तरमा सेना बनाइसकेका र जनसरकार चलाएको कुरा सदनमा भनेका थिए ।

तर अहिले विप्लवले सहज रुपमा पार्टीसँग जनपरिषद्, संघर्ष र सेना रहेको कुरा स्वीकार गरेका छन् । दुई हप्ताअघि मात्र रातो खबर साप्ताहिकलाई अन्तर्वार्ता दिँदै विप्लवले जेठ १२ को काठमाडौंको विष्फोटमा ज्या गुमाएकामध्ये महान ‘सेलेक्ट कमाण्डरहरुमध्येमा पर्छ’ भनेका छन् । यसले विप्लवसँग सेना रहेको विषयलाई थप बल पुर्याएको छ ।

Leave A Reply

Your email address will not be published.