एक वर्षमा पाँच हजारभन्दा बढीले गरे आत्महत्या

0

काठमाण्डौं – आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथामा दिवस। विश्वभर ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने मुल नाराका साथ मंगलबार विभिन्न कार्यक्रम गरेर विश्वभर नै विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ ।

‘आत्महत्या’ जसको अर्थ आफैले आफैलाई अन्त्य गर्नु हो । पछिल्लो समय विश्वभर नै आत्महत्या गर्नेको संख्या बढ्दो रहेको विज्ञहरुले बताएका छन् ।

कतिपयले आत्महत्या गर्नु अपराध हो भन्ने गरेता पनि चिकित्सकहरुले भने आत्महत्या गर्नु एक मानसिक समस्या भएको बताउँदै आएका छन् । त्यस्तै नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो रहेको पाइएको छ ।

नेपालमा प्रत्येक दिन १४ देखि १६ जना व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वर्षमा मात्रै नेपालमा १६ हजार २ सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ जना, २०७४/७५ मा ५ हजार ३ सय ४६ जना र २०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र प्रसाद बरालले जानकारी दिए ।

पछिल्लो तीन वर्षमा मात्रै १६ हजार २ सय २४ जनाले आत्महत्या गर्नु डरलाग्दो तथ्यांक भएको चिकित्सकहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् भने ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

पारिवारिक तनाव झै – झगडा, कलह, गरिबी, असफलता लगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्ने ९० प्रतिशत व्यक्ति मानसिक रोगी भएको अनुसन्धानले देखाएको विज्ञहरुकाे दाबी छ ।

आत्महत्याका कारण


– मानसिक समस्या
– पढाइ, काम तथा प्रेममा असफलता
– व्यवहारिक समस्या
– घरेलु हिसां तथा यौन दुर्व्यवहार
– अपराधजन्य घटना
– लागुऔषध, मादक पदार्थको दुर्व्यसन
– आफ्नो नजिकको मान्छे गुमाउनु
– सामाजिक रुपमा बद्नाम हुनु
– एक्लोपना

आत्महत्याका लक्षण


– निराशापना
– एक्लोपनको महसुस हुनु
– निरन्तर छट्पटी बढेको महसुस हुनु
– निन्द्रामा गडबढी
– जोखिमपूर्ण काममा रुची बढ्नु
– आत्महत्या सम्बन्धी कुरा गर्नु
– आफ्नो निजी सामान अरुलाई दिनु
– समाजिक संजालमा आत्महत्याको विचार तथा निराशाजनक अभिव्यक्ति प्रकट गर्नु ।

अपनाउनु पर्ने सुरक्षा


– धार्मिक तथा आध्यात्मक काममा सहभागि हुने
– साथीभाइ, परिवारको सहयोग लिने
– सामुदायिक क्रियाकलापमा सहभागिता जनाउने
– नजिकको व्यक्तिलाई मनका कुरा खोल्ने

Leave A Reply

Your email address will not be published.