काठमाण्डौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लामखुट्टे पनि मार्न नसक्ने सरकारसँग जनताले आश गर्ने बाटो नै नरहेको बताएका छन् ।
डेंगु जिवाणु फैलाउने लामखुट्टे देशभर फैलिँदा समेत सरकार त्यसलाई मार्ने विषयमा असफ भएको बताउँदै त्यस्ता सरकारसँग जनताले विकास र समृद्धिका आशा राख्नु व्यर्थ हुने नेता पौडेलले बताए ।
‘डेंगुको प्रकोप भयवह रुपमा फैलिएको छ हस्पिटलहरु भरिन थालिसके । सरकारलाई काम गर्ने मेसो नै छैन’ वरिष्ठ नेता पौडेलले भने ।
कांग्रेसले थालेको जागरण अभियान तथा विपी जयन्तीका अवसरमा बोल्दै नेता पौडेलले सरकार काण्डैकाण्डमा फसेको बताउँदै काण्ड बोक्ने सरकारले लामखुट्टे तह लगाउन नसक्नु स्वभाविक रहेको बताए । एनसेल काण्ड होस् या, वाइडबडी काण्ड होस् सरकार काण्डहरुमा फसेको उनको भनाइ थियो ।
अदालत र अख्तियार पनि दुई तिहाई सरकारको प्रभाव र छाँयामा परेको नेता पौडेलको आरोप छ । ‘दुई तिहाईको दम्भ देखाएर अख्तियार र अदालतलाई तर्साएर देशमा लुट मच्चाउने काम भएको छ,’ उनले भने ‘यत्रो भ्रष्टाचार भइरहँदा अख्तियार के हेरेर बसिरहेको छ ? अदालत के हेरेर बसिरहेको छ ?’ एनसेल लाभकर काण्डको फैसलामा अदालत पनि प्रभावमा परेको उनको भनाइ थियो ।