संसदमा सांसदको तर्कः बाटो हिँड्दा समेत न्यायसेल भन्न थाले सभामुख महाेदय !

0

काठमाण्डौं – बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य उपचारदेखि सुर्खेतको गौहत्या र एनसेलमाथि हालै भएको सर्वोच्चको फैसलाबारे चर्चा चल्यो ।

सोही क्रममा सत्तारुढ दलका सांसद विरोध खतिवडाले केही उदाहरणको चर्चा गरे । त्यसमध्ये बुधबार बिहान बाटोमा हिड्ने दुई जनाबीच ‘एनसेल कि न्यायसेल’ भनेर कुराकानी भएको सुनिएको भन्दै बैठकमा धारणा राखेका थिए ।

‘सभामुख ज्यू, आज बिहान म मर्निङवाक निस्केको थिएँ । त्यसक्रममा बाटोमा दुईजनाका बिचमा एकले एनसेल भन्दा अर्काले एनसेल होइन, न्यायसेल हो भनेर कुराकानी गरेको सुनेँ । देशको स्थिति यस्तो छ सम्माननीय सभामुख ज्यू’ सांसद खतिडाले भने ।

पूर्वकानून मन्त्री समेत रहेका सत्तारुढकै सांसद शेरबहादुर तामाङले भदौ ९ गते एनसेलको पक्षमा सर्वोच्च अदालतको बृहत् पूर्णइजलासबाट भएको फैसलामाथि प्रश्न उठाएका छन् । एनसेलको कर विवाद झनै चर्किँदै गएको बताउँदै संसदले छानबिन गर्न नपरोस् भनी चेतावनी समेत दिए । समयमा कर नतिरेकामा एनसेललाई शतप्रतिशत जरिवाना गरेर कर असुल गर्न समेत आग्रह गरे ।

‘सम्मानित सर्वोच्च अदालतको सम्माननीय प्रधानन्यायाधीशको इजालसबाट फैसला हुँदा निर्धारित कर ३ महिनाभित्र उठाउनु भन्ने फैसला हुन्छ, त्यही अदालतबाट फेरि अर्कै फैसला हुन्छ । यो डिले किन भइरहेको छ ? कर निर्धारण गर्ने ठूला करदाता कार्यालय हो कि अरु कुनै छ ?’ सांसद तामाङले प्रश्न गरे ।

‘एनसेलले छल्न खोजेको विषय संसदको ध्यानमा छ, संसदको आँखामा छ, कुनै पनि बेला संसदको छानबिनको विषय बनाउनु नपरोस्, सांसद तामाङले भने ‘सम्बन्धित पक्षले उठ्नुपर्ने कर छिटोभन्दा छिटो उठाओस् ।’ तिर्नुपर्ने कर तिर्न आलटाल गरे एनसेललाई कानुनबमोजिम दण्ड दिनुपर्ने पनि उनले बताए ।

बैठकमा सांसद गगनकुमार थापाले ‘देशको कार्यकारी प्रधानमन्त्री लामो समय देशबाहिर रहनुपर्ने स्थितिले देशलाई कता लैजान्छ ?’ भन्दै प्रश्न गरे ।

Leave A Reply

Your email address will not be published.