‘मोदी युग’को पहिलो हाइप्रोफाइल गिरफ्तारी, लाइनमा अरू पनि

0

नयाँ दिल्ली \ बीबीसी – सन् २०११ मा जब पी चिदम्बरम् भारतका गृहमन्त्री थिए, त्यतिबेला केन्द्रीय अन्वेषण व्युरो (सीबीआई)को भवन उद्घाटन गरेका थिए । त्यही सीबीआईको मुख्यालयमा उनले गएको बुधबार रात बिताउनु पर्यो अभियुक्तको रुपमा ।

जब चिदम्बरम गृहमन्त्री थिए, त्यतिबेला सोहराबुद्धिन शेख मुठभेड प्रकरणमा हत्याको आरोपमा सीबीआईले गुजरात सरकारका तत्कालीन मन्त्री अमित शाहलाई गिरफ्तार गरेको थियो । आज अमित शाह गृहमन्त्री छन् । चिदम्बरमलाई सीबीआईले गिरफतार गरेको छ ।

चिदम्बरमले मोदीको दायाँ हात मानिने अमित शाहलाई उतिबेला अप्ठेरो पारेका थिए । मोदी स्वयं पनि अप्ठेरोमा परेका थिए । सन् २००२को गुजरात दंगाको जाँच विशेष दल (एसआइटी)ले गरिरहेको थियो । त्यहाँ मोदीलाई फसाउने प्रयास गरिएको थियो ।

जाँच एजेन्सीलाई त्यतिबेला शाह मुख्य माध्यम बनेका थिए । भाजपाको नजरमा यो निकै नराम्रो भइरहेको थियो । तर चिदम्बरम त्यहाँ मात्रै रोकिएनन् । उनले सन् २०१०मा ‘भगवा आतंकवाद’ भन्ने शब्दावलीको उपयोग गरेर पूरै संघ परिवारलाई निशानामा पारेका थिए ।

उनले आतंकवादका बारेमा एक सम्मेलनको क्रममा भनेका थिए, ‘‘विगतमा भएका केही बम विस्फोटमा जोडिएका घटना हालै ‘भगवा आतंकवाद’का नयाँ स्वरुपमा सामुन्ने आएका छन् । मेरो सल्लाह छ– हामी हमेशा सतर्क रहनुपर्छ र केन्द्र र राज्य स्तरमा आतंकवादलाई रोक्ने आफ्नो क्षमता बढाउनु जरुरी छ ।’’

यो टिप्पणीलाई लिएर भाजपाले तुरुन्तै हंगामा खडा गरेको थियो । हिन्दुवादीहरुले हिन्दुत्वलाई आतंकवादसँग जोडेकोमा आफूहरुलाई अवैध भन्न खोजेको रुपमा बुझे । पहिला इश्लामिक शक्तिलाई मात्रै त्यसरी जोड्ने गरिएको थियो । पछि यो कुरामा सबै सहमत भए कि आतंकवादको कुनै धर्म हुँदैन । तर, त्यतिबेला जुन नोक्सान हुनेवाला थियो, त्यो भइसकेको थियो ।

हुनत उक्त जाँच स्पष्ट थियो कि थिएन (केही धमाकाको तार हिन्दुत्व संगठनसँग जोडिएका थिए) थाहा छैन । यसबाट भाजपा र संघलाई सेक्युलर षड्यन्त्रको शिकार भएको भन्ने कार्ड खेल्ने मौका मिलेको थियो ।

कांग्रेसले नै सार्वजनिक रुपमा चिदम्बरमको भनाइलाई खण्डन गर्नुपरेको थियो । जनार्दन द्विवेदीले कांग्रेसको वक्तव्यमा भनेका थिए, ‘‘यो विवाद एक शब्दबाट शुरु भएको हो (जुन सम्मेलनमा गृहमन्त्रीले विवादित बयान दिएका थिए) उनको एजेण्डामा भगवा होइन आतंकवाद थियो र आतंकको कुनै रंग हुँदैन । यो पूरै कालो छ । रातो, हरियो, सेतो तपाईंले चाहनु हुन्छ भने जेसुकैसँग जोड्नुस् आतंकवादको कुनै रंग हुँदैन, आतंकवादलाई निन्दा गर्नु जरुरी छ । भाषाको प्रयोगमा संयम हुन जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा मानिसले कुनैपनि रंगमा आपत्ति जनाउनु हुँदैन, किनकी सबै रंगको आफ्नो एक परम्परा र इतिहास छ ।’’

आइएनएक्स मामिला

चिदम्बरमको खिलाफमा भएका अहिलेका गतिविधि कानुनी भन्दा पनि बढी राजनीतिक छ । यो त स्पष्ट छ कि जब चिदम्बरम युपीए–१ सरकारको अर्थमन्त्री थिए, त्यतिबेला आइएनएक्स नामको एक मिडिया कम्पनीलाई ३०५ करोड रुपैयाँको विदेशी लगानीको अनुमतिको आवश्यकता थियो । त्यतिबेला फरेन इन्भेस्टमेन्ट प्रमोशन बोर्डले अनुमति दिनुपर्यो । कथित रुपमा सो कम्पनीले अनुमति बिना नै लगानी गरिसकेको थियो । आइएनएक्स कम्पनीका मालिक थिए– दम्पति इन्द्राणी र पीटर मुखर्जी । यी दम्पति आफ्नी छोरी शीना बोराको हत्याको अभियुक्त हुन् र अहिले उनीहरु जेलमा छन् ।

जेलमा रहेको बेलामा इन्द्राणी मुखर्जीले कानुनी अप्ठेरोबाट बच्नको लागि गृहमन्त्री चिदम्बरमलाई घूस दिएको स्वीकार गरेकी छन् । सो रकम उनीहरुले चिदम्बरमका छोरा कार्तिलाई दिएको र सो रकम १० लाख भारु रहेको जनाइएको थियो ।

यति मात्रै होइन, चिदम्बरमको विरुद्धमा २००६ को एयरलेस मैक्सिस सौदामा पनि यस्तै आरोप लागेको छ । यसमा आवश्यक जाँच चलिरहेको छ । बुधबार भएको चिदम्बरमको गिरफ्तारी मोदी युगमा विपक्षीका सबै भन्दा हाइ प्रोफाइल नेताको गिरफ्तारी हो ।

आमरुपमा सरकारले विपक्षी नेतालाई गिरफ्तार गर्न सक्दैन किनकि जनता सडकमा उत्रिन सक्छन् । संकटकालपछि इन्दिरा गान्धीको साथमा पनि यही भएको थियो । तर, अहिलेको अवस्थामा यस्ता गिरफ्तारीको राजनीतिक असर लगभग देखिँदैन । विपक्षीप्रतिको सहानुभूति भन्दा मोदी बढी शक्तिशाली देखिन्छन् । यो गिरफ्तारी यस्तो समयमा भएको छ जुनबेला भारतको अर्थव्यवस्थाको गति सुस्त भइरहेको छ ।

पी चिदम्बरम २००४ देखि २००८ सम्म ग्रोथ र राज्यकोषको घाटा दुवै ख्याल राख्ने राम्रो अर्थमन्त्रीका रुपमा चिनिएका व्यक्ति हुन् । सोसल मिडियामा एक सवाल निकै सोधिएको छ, ‘‘सीबीआईले चिदम्बरमसँग पहिलो सवाल यो सोधे कि अर्थव्यवस्थाको किकस्टार्ट कसरी गर्ने ?’’

चिदम्बरमको गिरफ्तारी यस्तो बेलामा भएको छ जब काश्मीरको पूरै विपक्ष जेलमा छ । जबकी अर्थ व्यवस्थाले मोदी सरकारको लागि लगातार खराब अवस्था सिर्जना गरेको छ । भ्रष्टाचारको मामिलामा केही अरु यसैखालका हाइ प्रोफाइल गिरफ्तारी हुन सक्ने अवस्था रहेको छ ।

जाँच व्युरोहरु अहिले शशि थरुर, रोबर्ट बाड्रा, राहुल गान्धी र सोनिया गान्धीको समेत पछि लागिरहेका छन् । बाड्रामाथि मनि लाउण्डरिङ्गको आरोप छ भने गान्धीद्वयलाई नेशनल हेराल्ड मामिलामा भ्रष्टाचारको आरोप लागेको छ ।

सुनन्दा पुष्करको मामिलामा थरुरले नै आफ्नी पत्नीलाई आत्महत्या गर्न उक्साएको आरोप लगाइँदै आएको छ । दिल्ली प्रहरीले थरुरमाथि भारतीय दण्ड संहिताको धारा ४८९ र ३०६ अनुसार आरोप लगाएको छ । पहिलोमा पतिको वा उनको परिवारले महिलामाथि गर्ने क्रुर व्यवहार र दोस्रोले आत्महत्याको लागि उक्साउने कामको बारेमा चर्चा गरेको छ । भाजपाका समर्थक ट्विटर ह्याण्डल र न्यूज च्यानलले यो संकेत गर्न थालिसकेका छन् ।

भाजपालाई के फाइदा ?

अर्थव्यवस्था सुस्त भइरहेको बेलामा ‘मोदी सरकार अर्थव्यवस्था सम्हाल्न असफल’ भन्ने हेडलाइन फेर्न चाहन्छ । पहिला काश्मीर प्रकरण आयो भने अहिले चिदम्बरम प्रकरण । अनि अर्को कुरा कांग्रेसका नेता पक्राउ पर्दा विपक्षी कति भ्रष्ट छ भनेर देखाउन पनि सरकारलाई सजिलो बनाइदिएको छ ।

सन् १९५४ मा एक अमीर कारोबारी परिवारमा जन्मेका चिदम्बरमले कानुनलाई आफ्नो करियर बनाउनका लागि छानेका थिए । राजीव गान्धीको नजरमा परेका उनी १९८४ मा इन्दिरा गान्धीको हत्या भएपछि कांग्रेसतिर आएको चुनावी लहरमा अचानक चुनाव जित्न सफल भए । राजीवले उनलाई लोक शिकायत र पेन्सनमन्त्री बनाइदिएका थिए ।

चिदम्बरमले गृहमन्त्री भएको बेलामा उतिबेला मोदी र अमित शाहलाई दोषी ठहर गर्न सकेनन् । घुम्दैफिर्दै उनै दुईले अहिले उनलाई अप्ठेरोमा पारेका छन् । उनी बुधबार पक्राउ पर्दा पार्टीका कार्यकर्ता नगन्यले मात्रै विरोध गरे । कांग्रेसको साथ थियो भने सायद पत्रकार सम्मेलनमा सोनिया र राहुल पनि सहभागी हुन्थे तर भएनन् । उनको पार्टीको अहिलेको अवस्था हेर्दा ७३ वर्षिय चिदम्बरमको राजनीतिक करियरको सुखद अन्त्य देखिएको छैन ।

Leave A Reply

Your email address will not be published.