श्रीलङ्कामा भएको राष्ट्रपतीय चुनावको मतगणना चल्दै

0

श्रीलङ्काको राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणना अनुसार वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले अग्रता लिनुभएको छ । १० लाख मतगणना हुँदा दिसानायकेले ५३ प्रतिशत मत पाउनुभएको रोयटर्सले जनाएको छ ।

यस्तै श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमदासाले २२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । एक करोड ७० लाख मतदाता रहेकोमा हिजो सम्पन्न चुनावमा झन्डै ७५ प्रतिशत मत खसेको श्रीलङ्काको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतीय चुनावमा ३८ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धा भने चार उम्मेदवार वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे, अनुरा कुमारा दिसानायके, सजिथ प्रेमदासा र नमल राजापाक्षबीच हुने सर्वेक्षणले देखाएका छन् ।

विक्रमासिंघे यसअघि दुई पटक राष्ट्रपतिमा पराजित भइसक्नुभएको छ । आर्थिक सङ्कटका कारण देशव्यापी प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाडेर भागेपछि विक्रमासिंघे संसदबाट कार्यवाहक राष्ट्रपति बन्नुभएको हो । चुनावी मत सर्वेक्षणले झन्डै ४८ प्रतिशत मतसहित दिसानायके पहिलो स्थानमा रहेको देखाएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएको खण्डमा सबैभन्दा बढी मत पाउने दुई उम्मेदवारबीच हुने दोस्रो चरणको मतदातबाट राष्ट्रपति निर्वाचित हुनेछन् । श्रीलङ्कामा सन् २०२२ को आर्थिक सङ्कटपछि पहिलो पटक राष्ट्रपतीय चुनाव भएको हो ।

Leave A Reply

Your email address will not be published.