राष्ट्रिय परिचयपत्र वितरण स्थगित गर्न कांग्रेसको माग

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय परिचयपत्र वितरणको काम तत्काल स्थगित गर्न सरकारसँग माग गरेको छ ।

कानुन निर्माणबारे संसदीय समितिमा छलफल भइरहेकै बेला राष्ट्रिय परिचयपत्र विवरणको कामलाई जारी राखेकोमा भन्दै कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेलले परिचयपत्र वितरण स्थगित गर्न सरकारसँग माग गरेका हुन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद बडूले कानुन निर्माणबारे संसदीय समितिमा छलफल भइरहेकै बेला राष्ट्रिय परिचयपत्र वितरण गरेर सरकारले गल्ती गरेको आरोप लगाए ।

अर्बौं खर्चेर परिचयपत्र छपाइको काम सरकारले सुरु गरे पनि सो सार्वजनिक खरिद ऐन र प्रचलित कानुनविपरीत रहेको सांसद बडुको भनाइ थियो । सांसद अमरेशकुमार सिंहले कानुनविपरीत राष्ट्रिय परिचयपत्र विवरणको कामलाई सरकारले जारी राखेकोमा आपत्ति जनाउँदै कानुन नै नबनाई कसरी राष्ट्रिय परिचयपत्र विवरण गरियो भनी प्रश्न उठाए ।

गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणको काममा ‘केटाकेटीपन’ देखाएको कांग्रेस सांसद देवेन्द्रराज कँडेलले आरोप बताए । समितिमा विचाराधीन नागरिकता विधेयक र राष्ट्रिय परिचयपत्र विधेयक पारित गरेपछि राष्ट्रिय परिचयपत्र वितरण गर्नु उपयुक्त हुने कँडेको भनाइ थियो ।

बैठकमा समितिका अन्य सदस्यले पनि हालसम्म वितरण गरिएको राष्ट्रिय परिचयपत्रको कानुनी आधार बलियो नभएका भन्दै वितरित राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने भनाइ राखेका थिए ।

Leave A Reply

Your email address will not be published.