सुष्मा स्वराज : मोदीको आलोचकदेखि प्रशंसकसम्म

0

नयाँँ दिल्ली – सर्वसाधारणको पासपोर्ट बनाइदिन सहयोग गर्नेदेखि विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्नेसम्म काम गरेकी भारतीय नेतृ सुष्मा स्वराजको मंगलबार राति निधन भयो ।

सुष्मा स्वराज प्रखर वक्ता र कुशल प्रशासक थिइन् । एक समय त भाजपाको लोकप्रिय वक्ताको रुपमा अटल बिहारी वाजपेयीपछि सुष्माको नाम आउँथ्यो । संसद होस् या सडक सुष्माकै चर्चा हुन्थ्यो ।

विगतका चार दशकमा उनले ११ चुनाव लडिन्, जसमा चार पटक विधानसभामा विजयी भइन् । सात पटक त सांसद बनिन् । उनी चुनावी राजनीतिमा हरियाणा, दिल्ली, उत्तरप्रदेश, मध्यप्रदेश, कर्नाटक र झारखण्ड गरी ६ राज्यमा सक्रिय रहिन् ।

मोदीको आलोचक र प्रशंसक

राजनीतिक विश्लेषकहरु भन्छन्, सन् २०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु हुँदैन भन्ने लालकृष्ण आडवाणीको मतमा सुष्माले पनि आडवाणीलाई अन्तिमसम्म साथ दिएकी थिइन् । तर, सन् २०१४ को चुनावमा मोदीले जिते । जानकारहरु र मोदीका आलोचकहरुले भन्थे– सुष्माले त्यसको सजाय भविष्यमा पाउने नै छिन् ।

तर, अचम्म त के भयो भने मोदीकै प्रधानमन्त्रीकालमा सुष्मा विदेशमन्त्री बनिन् । मोदी पक्षका कतिपय भारतीय नेताहरु भन्छन्– मोदीले सुष्मालाई विदेशमन्त्री बनाएर बैगुनीलाई गुनले मारे । इन्दिरा गान्धीपछि भारतीय विदेशमन्त्री बन्ने दोस्रो महिलाको सूचीमा सुष्माको नाम अंकित भयो ।

यद्यपि मोदीको दोस्रो कार्यकालमा भने सुष्मा स्वराज मन्त्री बनिनन् ।जीवनको अन्तिम घडीमा सुष्माले प्रधानमन्त्री मोदीप्रति निकै सम्मान भाव दर्शाएर ट्वीट गरेकी थिइन् । उनले काश्मीरबारे प्रधानमन्त्री मोदीले गरेको निर्णयप्रति लक्षित गर्दै उनले भनेकी थिइन्– तपाईंलाई अभिनन्दन गर्न चाहान्छु । म जीवनमा यही दिनको प्रतीक्षामा थिएँ ।

अटल बिहारी बाजपेयीको पालामा सुष्मा पहिलो पटक केन्द्रीय मन्त्री बनेकी थिइन् । सुरुमा सूचना एवं प्रसारण मन्त्रालय सम्हालेकी उनले पछि परिवार कल्याण मन्त्रालयको जिम्मेवारी पाइन् ।

सुष्माको काम : पासपोर्ट बनाइदिने, विदेशबाट उद्धार गरिदिने

सुष्मा स्वराज विदेशमन्त्री रहँदा संयुक्त राष्ट्रसंघको महासभामा हिन्दीमा भाषण गरेकी थिइन् । हिन्दीमा भाषण गरेपछि उनको निकै प्रशंसा भएको थियो ।विदेशमन्त्री रहँदा सुष्मा स्वराज ट्वीटरमा धेरै सक्रिय हुन्थिन् ।

विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्न होस् या पासपोर्ट बनाइदिने काममा होस् सुष्माले दिल खोलेर सहयोग गर्थिन् । उनको सहयोगी भावना देखेर होला कतिपयले ट्वीटरमा सुष्मालाई मेन्सन गर्दै एकदमै सामान्य कुराहरुमा पनि मद्दत माग्थे । त्यस प्रकारका आग्रहलाई उनले मजाकमै उडाइदिन्थिन् ।

मनमोहनविरुद्ध उत्तेजक अभिव्यक्ति

यूपीए सरकारमा रहँदा भाजपा प्रतिपक्षमा थियो । सरकारको भ्रष्टाचारको कुरा सार्वजनिक भइरहन्थ्यो । त्यतिबेला लोकसभामा विपक्षी नेताको रुपमा सुष्मा खरो उत्रिन्थिन् । त्यसैले भन्ने गरिन्छ, भाजपालाई सत्तामा ल्याउन सुष्माको ठूलो योगदान छ ।

एकपटक तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई सुष्माले संसदमै उत्तेजक हुँदै भनेकी थिइन्– तिमी एताउता कुरा नगर । यो कुरा भन– रक्षा दल किन लुट्यौ ?त्यसको केही दिनपछि पनि यसै प्रसंगमा सुष्माले भनेकी थिइन्– म भन्दिन्छु– रक्षा दलमा लुट किन भयो, किनभने तिम्रा लुटेरालाई पोस्नु थियो ।’

सुष्माले भनेकी थिइन् – सोनिया प्रधानमन्त्री बनेमा भिक्षुणी बन्नेछु

सुष्मा स्वराजले यसै वर्षको अप्रिल महिनामा पनि कांग्रेस आईको नेता राहुल गान्धीप्रति कटाक्ष गरेकी थिइन् । उनले भनेकी थिइन्– जुन परिवारको दुई–दुई जना सदस्य आतंकवादको शिकार भए, त्यही परिवारको छोरोले भन्दैछ आतंकवाद कुनै मुद्दा होइन । राहुल जी, यदि आतंकवाद कुनै मुद्दा होइन भने तपाईंले सुरक्षा टोली किन राख्नु भएको छ ?’

सन् १९९९ मा चुनावको बेला थियो । सोनिया गान्धीले कांग्रेसको नेतृत्व सम्हालेको करिब एक वर्ष भएको थियो । २९ अक्टुबर १९९९ मा सोनिया गान्धीले उत्तर प्रदेशको अमेठी र कर्नाटकको बेल्लारी दुई स्थानबाट लोकसभा चुनाव लड्ने घोषणा गरिन् ।

भाजपाले सोनिया गान्धीलाई चुनौती दिन सुष्मालाई बेल्लारी क्षेत्रमा उम्मेदवार बनायो । बेल्लारी कांग्रेसको गढ थियो । सुष्मा सोनियासँग ५६ हजार मत अन्तरले पराजित भइन् । त्यतिबेला चुनावी भाषणमा सुष्माले भनेकी थिइन्– यदि सोनिया गान्धी प्रधानमन्त्री बनेमा म कपाल खौरिएर, सेतो सारी लगाउने छु, भिक्षुणी बनेर जमिनमा सुत्नेछु ।

पहिले बाजपेयी र त्यसपछि नरेन्द्र मोदीको पहिलो कार्यकालमा केन्द्रीय मन्त्री बनेकी सुष्मा भाजपाको एक खम्बासरह रहिन् । देशका महिलाहरुलाई संगठनमा जोड्ने अभूतपूर्व काम गरेको जस पनि उनलाई दिने गरिन्छ । विदेशमन्त्री रहादा पाकिस्तानका नागरिकहरुलाई समेत उद्धार गरिन् जसबाट उनीहरु भारतमा आएर ढुक्कले आराम गर्न पाए ।

एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.