प्रचण्डको चेतावनीपछि शिवसेनाले भन्यो, ‘१७ हजारको केसमा तपाईंलाई सजाय दिए कसो होला ?’

0

काठमाण्डौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिए लगत्तै राजावादी शिव सेना नेपालले पनि काउन्टर जवाफ फर्काएको छ । शिव सेनाले आइतबार नै एक विज्ञप्ति जारी गर्दै १७ हजार नेपाली नागरिकको हत्या गरेको अभियोगमा अध्यक्ष प्रचण्डसहितलाई सजाय दिएमा कसो होला ? भन्दै प्रश्न गरेको छ ।

शिवसेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘यदि तपाईं बिनाअपराध पूर्वराजालाई नागार्जुनबाट निकाल्ने कुरा गर्नुहुन्छ भने हामी तपाईंलाई १७ हजार हाम्रा नेपाली दाजुभाईको हत्याको अभियोग लगाउँछौं, तर हाम्रो जनअदालतले तपाईंलाई सजाय दिनेछ । हेगको व्यवस्था हामी नेपालमै सिर्जना गर्नेछौं । त्यो बेला तपाईंको जवाफ के हुनेछ ?’

शिव सेनाले अध्यक्ष दाहाललाई आफ्नो सत्ता र स्वार्थ एवं आफ्नो जहानिया शासनको बचाउका लागि कुनै पनि बेतुकको अभिव्यक्ति नदिन आग्रह गरेको छ । शिव सेनाले दाहोर्याएर भनेको छ, ‘तपाईं नेपाली नागरिक हुनुहुन्छ, यसकारण कतिपय अपराध स्वतः माफी पाउनु हुन्छ । यदि तपाईं नेपाली जनताको हत्याको अभियोग स्वीकार नगरी यसैगरी बोल्दै जानुहुन्छ भने तपाईंलाई भगवान शिवले त माफ गर्नुहोला, तर शिवका सेना अर्थात हामी शिव सैनिकले माफ गर्न सक्ने छैनन् ।’

अध्यक्ष बस्नेतले प्रचण्डलाई आफ्ना गल्ती महशुस गरी भगवान शिवको शरणमा जान अन्तिम चेतावनी दिएको छ ।

नेपाल आज

Leave A Reply

Your email address will not be published.