हिंसालाई वैधानिकता प्रदान गर्ने गरी विप्लवसँग वार्ता असम्भव: सूचना तथा प्रविधिमन्त्री

0

काठमाण्डौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिंसालाई वैधानिकता प्रदान गर्ने गरी विप्लवसँग वार्ता सम्भव नरहेको बताएका छन ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले दाउपेच र शक्ति संचयका लागि वार्तालाई प्रयोग गर्न नदिने बताएका हुन ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा विप्लवसँगको वार्ताबारे सोधिएको प्रश्नको जवाफ दिँदै बास्कोटाले शक्ति सञ्चय र आफ्ना कार्यकर्ता छुटाउनका लागि दाउपेचपूर्ण ढंगले गरिने वार्ता सरकारलाई स्वीकार्य नहुने बताएका हुन् ।

‘दाउपेच, शक्ति सञ्चय वा प्रचारका लागि वार्ता हुँदैन । पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार छैन,’ बास्कोटाले भने ।

उनले २०५२ सालदेखि ६२ सम्म भएको माओवादी युद्धका बेला वार्ताका नाममा हुने जस्तो कार्यकर्ता छुटाउने र शक्ति सञ्चय गर्ने दाउपेचलाई सरकारले राम्रोसँग बुझेको उल्लेख गरे।

बास्कोटाले भने, ‘०५२ सालदेखि ०६२ सम्म के – के भयो ? के त्यसैको पुनरावृत्ति गर्ने ? कार्यकर्ता छाड्ने र मुद्दा फिर्ता लिने अनि वार्ताबाट भाग्ने प्रवृत्तिसँग सरकार सचेत छ ।’

उनले सिके राउत जस्तै प्रतिस्पर्धात्मक राजनीतिमा आउने र संविधान मान्ने भए वार्ताका लागि सरकार तयार भएको उल्लेख गरे । ‘संंविधान मान्ने र हिंसा छाड्ने हो भने वार्ता गर्न सकिन्छ । अनौपचारिक रुपमा वार्ता भइरहेको छ । वार्ताबाट सरकार टाढा छैन,’ मन्त्री बास्कोटाले भने ।

Leave A Reply

Your email address will not be published.