विमानस्थल : चुनावमा प्राथमिकता, अहिले बेवास्ता

0

काठमाण्डौं – दुई दशकअघि असुरक्षाको कारण देखाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित मझँगाँउ विमानस्थल बन्द गरियो । २०५६ सालमा बन्द भएको विमानस्थलको भौतिक संरचना जीर्ण भइसकेका छन् भने धावनमार्ग गौचरण बनेको छ । ०५६ यताका सबैखाले निर्वाचनमा विमानस्थल सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठ्यो तर निर्वाचन सकिएलगत्तै उक्त विषय ओझेलमा पर्न थालेको पनि दशक नाघिसक्यो ।

केही दिनअघि भीमदत्तनगरका स्थानीय नागरिक समाज र सरोकारवालाहरुको पहलमा सङ्घर्ष समिति नै गठन भएर मझँगाँउ विमानस्थल पुनः सञ्चालनको विषय उठिरहेको भए पनि आश्वासन मात्रै पाइरहेको सङ्घर्ष समितिका पदाधीकारीहरुको भनाइ छ ।

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा भीमदत्त नगरपालिकाको प्रमुख र उपप्रमुख पदका सबै दलका उम्मेदवारहरुले मझँगाउँ विमानस्थल सञ्चालनको प्रमुख एजेण्ट बनाए तर पहल भने भएको छैन । “अहिलेको हाम्रो आन्दोलनको पहिलो चरणको माग भनेको विमानस्थल घेरापर्खाल र भौतिक संरचना मर्मतका लागि बजेट हो ।” विमानस्थल सञ्चालन गर्न गठिन नागरिक सङ्घर्ष समितिका संयोजक रमेशबहादुर चन्दले भने, “साउन १५ गतेपछि यो विषय फेरि जोडदार रुपले उठाउँछौँ ।”

उनले विमानस्थलको संरक्षणका लागि कञ्चनपुरका सबै स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार र केन्द्रका जनप्रतिनिधिहरुसँग माग गरिएको पनि जानकारी दिए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि दलीय प्रचारको एजेण्डा बने पनि सञ्चालनको कुनै पहल नभएको संयोजक चन्दको भनाइ छ ।

“विमानस्थलको क्षेत्रफल कम÷धेरै भएर सञ्चालन हुन नसकेको कुरा गफ मात्रै हो”, चन्दले भन्नुभयो, “केही तत्वहरु विमानस्थलको जग्गा दुरुपयोग गराउने खेलमा लागे पनि त्यो पूरा हुन दिन्नौँ ।”

नागरिक समाज धनगढीको गेटा विमानस्थलको विकल्पमा मझँगाउँ विमानस्थल सञ्चालन हुनुपर्ने अडानमा छन् । “साउन १५ गतेसम्म बजेटको केही हुदैन”, चन्दले भन्नुभयो, “अहिले स्थानीय तहहरुले कस्ले कति बजेट छुट्याए त्यो हेर्दैछौँ ।”

मझँगाउँ विमानस्थल सञ्चालन गरेर कञ्चनपुरको शुक्लाफाँटा, महाकाली नदीको झोलुङ्गे पुल, विभिन्न शक्तिपीठ तथा भारतीय शहरहरुको यात्रा सहज हुने चन्दको भनाइ छ ।

झण्डै ५३ बिघा क्षेत्रफलमा रहेको विमानस्थलमा दुई किलोमिटर धावन मार्गसमेत रहेको छ । केही दिनअघि नागरिक सङ्घर्ष समितिले विमानस्थलका बारेमा गरिएको छलफल कार्यक्रममा यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु मानबहादुर सुनार, लालबहादुर खड्कालगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए ।

सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेश सरकारलार्ई पनि विमानस्थल सञ्चालनमा गम्भीर बन्न ज्ञापनसमेत बुझाइसकेका छन् ।

रासस

Leave A Reply

Your email address will not be published.