बस ठोकिँदा ३४ घाइते, ८ गम्भीर घाइते

0

सुर्खेत – सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका – २ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काँक्रेविहार बस व्यवसायी समितिको ना ६ ख ९६७० नं.को बस एकआपसमा ठोक्किँदा ३४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

नेपालगञ्ज जाँदै गरेको बसको स्ट्रिरिङमा च्यापिएका चालक नेपालगञ्ज उपमहानगरपालिका निवासी २६ वर्षीय टेकबहादुर कुँवरलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज पठाइएको प्रवक्ता क्षेत्रीले बताए ।

उनका अनुसार गम्भीर घाइते वीरेन्द्रनगरपालिका ४ सुर्खेतका १५ वर्षीय स्नेहा गौतम, ४० वर्षीय सरिता पौडेल, वडा नं.१ का ५२ वर्षीय चन्द्रदेव गिरी, ६ का २८ वर्षीय कमला शर्मा, ३ का ३३ वर्षीय जानुका गौतम, १२ का २० वर्षीय लियोजन कुमार थापामगर, मालिका गाउँपालिका १ गुल्मीका ३० वर्षीय रेशम श्रीष र बर्दिया बानियभारका ६७ वर्षीया कौशिला सापकोटाको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ ।

बाँकी सबैको स्थानीय नर्सिङ होम र अन्य स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ना ४ ख ३८२७ का बस चालक जीवन राना फरार रहेको र उनको खोजतलास भइरहेको छ ।

रासस

Leave A Reply

Your email address will not be published.