ओली सरकारका कुन मन्त्रीको शैक्षिक योग्यता कति ?

0

काठमाडौं – केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन् ।

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन् ।


प्रमाणपत्र तहमात्र अध्ययन गर्ने क्याबिनेट मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन् ।

ओली सरकारको मन्त्रिमण्डलमा सबैभन्दा बढी स्नातक गरेका नेता छन् । ९ जना मन्त्रीले स्नातकसम्मको अध्ययन गरेका छन् । त्यसैमध्येका वनमन्त्री स्नातकोत्तरको पनि अहिले परीक्षा दिइरहेका छन् । अन्य स्नातक गरेका मन्त्रीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ९बादल० लगायत छन् । पोखरेलले बीएड अध्ययन गरेका छन् । गृहमन्त्री थापाले रामपुर क्याम्पसबाट आईएस्सीएजी सकेर मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बाली विज्ञानमा स्नातक गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल ल क्याम्पसबाट बीएलसम्मको अध्ययन सकेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र खानेपानीमन्त्री विना मगरले बीएसम्मको अध्ययन गरेका छन् । बाँस्कोटाले आरआर र मगरले सरस्वती क्याम्पसबाट स्नातक गरेका हुन् । त्यस्तै, भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले भक्तपुर बहुमुखी क्याम्पसबाट बीएड पास गरेकी छन् ।

६ जना नेताले भने स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले विज्ञान संकायमा स्नातकोत्तर र कानुन विषयमा स्नातक गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले क्रिश्चियन डिग्री कलेज लखनउबाट बीएस्सी र लर्ड बुद्ध कलेज भारतबाट स्नातकोत्तर गरेका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तह पूरा गरेका छन् । अर्थमन्त्री युवराज खतिवडा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले पीएचडीसम्मको अध्ययन सकेका छन् । क्याबिनेटमा एक मन्त्री भने अहिले रिक्त छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

Leave A Reply

Your email address will not be published.