काठमाण्डौं – ‘विमानस्थल संकटकालीन’ पूर्वअभ्यासका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार अपराह्न आधा घन्टा बन्द हुने भएको छ ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । संकटकालीन योजनाअनुरूप गरिने अभ्यासका लागि विमानस्थल आधा घन्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार पहिलोपटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान–अवतरण सूचना प्रकाशित गरी आधा घन्टा बन्द गरिनेछ । त्यस अवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द हुनेछन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरूप विमानस्थलले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको उल्लेख गरेको छ ।
बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपतकालीन उद्धारको अभ्यास गरिनेछ । विमानस्थलका महाप्रबन्धक क्षेत्रीका अनुसार उडान नं ईएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपतकालीन पूर्णअभ्यास गरिनेछ । यो अभ्यासका क्रममा विमानस्थलवरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।
रासस