सेनाकै जग्गा अतिक्रमण, ब्यारेकभित्रको जग्गा व्यक्तिका नाममा किनबेच !

0

काठमाडौं – नेपाली सेनाले भोगाधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा व्यक्तिका नाममा किनबेच भएको छ । सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ । उक्त जग्गा सेनाले २०४५ सालमा अधिग्रहण गरेको थियो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण सेलाउन नपाउँदै सेनाकै ब्यारेकभित्रको जग्गामाथि भूमाफियाको आँखा परेको घटना सार्वजनिक भएको हो । भक्तपुरमा मात्र होइन, बैतडी लगायत जिल्लामा समेत नेपाली सेनाको स्वामित्वमा रहेको जग्गा कब्जा भएको छ । सेनाको जग्गा व्यक्तिले किनेको विषयमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बोल्न चाहेनन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका – ६ (तत्कालीन कटुन्जे – ८, ख) स्थित सूर्यविनायक ब्यारेकले भोगचलन गर्दै आएको जग्गा २०४४ साउन ७ गते तत्कालीन श्री ५ को सरकारको निर्णयबमोजिम अधिग्रहणको प्रक्रिया अघि बढाइएको थियो । नेपाली सेनाले अधिग्रहण गरेको तीन कित्ता जग्गा किनबेच भएको छ । सुरुमा आफ्नै जग्गा किनबेच भएको सेनाले पत्तोसमेत पाएन । यो घटनाले मुलुकभरको सेनाकै जग्गासमेत असुरक्षित बनेका छन् ।

वडा कार्यालय र सम्बन्धित मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा मुआब्जा दिएर सेनाको स्वामित्वमा गइसकेको जग्गा किनबेच भएको पाइएको हो । सूर्यविनायक ब्यारेक परिसरको पहिलो कित्तामा ४ आना, दोस्रोमा १ रोपनी १३ आना २ पैसा र तेस्रो कित्तामा १ रोपनी ४ आना जग्गा छ । भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी थानेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा बसेको मुआब्जा समिति बैठकले जग्गाधनी खिलकुमारी शर्मालाई ६ लाख ६१ हजार ९ सय ९८ रुपयाँ ८४ पैसा दिने निर्णय गरेको थियो ।

नेपाली सेनाले २०४५ असार १७ गते अधिग्रहणबारे गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सूचनाप्रति शर्माले कुनै उजुरी दिइनन् । सेनाले बलमिच्याइँ गरेर जग्गा अधिग्रहण गरेको भए शर्माले त्यसविरुद्ध उजुरी गर्थिन् । २०५७ सालमा शर्माको मृत्यु भयो। त्यसपछि शर्माका छोराहरूले मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा उक्त जग्गा आफ्नो नाममा ल्याए ।

शर्माको मृत्यु भएको झन्डै १७ वर्षपछि २०७४ सालमा उनका छोराहरूले जग्गा आफ्नो नाममा ल्याउन र अंशबण्डा गर्न वडा कार्यालयबाट सिफारिस लिएका थिए । सूर्यविनायक नगरपालिकाका कर्मचारीले विना अध्ययन हचुवाका भरमा शर्माका छोराहरूलाई सिफारिस दियो । अहिले शर्माका छोराहरुले समेत उक्त जग्गा अर्कै व्यक्तिलाई बेचेका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको उक्त जग्गा २०७४ सालमा अनधिकृत रुपमा नामसारी भएको पाइएको छ ।

त्यसपछि शर्माका छोराबाट किनबेच हुँदै अहिले स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका – ५ (तत्कालीन चिनास गाविस – ७) की सरस्वती पोख्रेल र दाङ शान्तिनगर गाउँपालिका – ३ (तत्कालीन शान्तिनगर गाविस – ७) की इन्द्रा मल्लको नाममा छ। पोख्रेल र मल्लले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन् ।

बडाध्यक्षले पठाएको पत्रमा उल्लिखित कित्ता जग्गा सूर्यविनायकस्थित नेपाली सेनाको गणले अधिग्रहण गरिसकेको र सेनाको ब्यारेकभित्र पर्ने भएकाले अघिल्लो सिफारिसका आधारमा जग्गा जो जसका नाममा हस्तान्तरण भए पनि तत्काल रोक्का राखिदिनु भन्ने व्यहोरा उल्लेख छ ।

अधिग्रहण गरेका बेला उक्त जग्गामा कुनै पनि उजुर र मुद्दा नरहेको नेपाली सैनिक स्रोतले जनाएको छ । उक्त जग्गा नामसारी गर्न भक्तपुर मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतो देखिएको छ । नेपाली सेनाले उक्त जग्गा अधिग्रहण गरेको मितिबाटै कानुनबमोजिम तारबारले घेरी भोगचलन गर्दै आएको छ ।

अन्नपूर्ण पोष्टबाट

Leave A Reply

Your email address will not be published.