कुमार पौडेलको मृत्यु मुठभेडमा भएकै होइन : जनार्दन शर्मा

0

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्मा सर्लाहीमा मारिएका विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको मुठभेडमा मृत्यु नभएको दाबी गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीले नै पौडेलको हत्या गरेको शर्माले दाबी गरे, ‘फोटो तथा तथ्य हेर्दा मुठभेड हो भन्ने लाग्दैन’, उनले भने,‘पहिला हात खुट्टा भाँचेर पछि गोली हानिएको अवस्था फोटोमा देख्न सकिन्छ ।’

पौडेलको हत्यापछि समाजिक सञ्जालमा राखिएका फोटोहरू प्रहरीले नै उपलब्ध गराएको दाबी गरे । ‘सामाजिक सञ्जालमा आएका फोटाहरू जनताले खिचेको त हैन होला, फोटो प्रहरीले नै दिएको हो’, उनले भने, ‘फोटो हेर्दा पहिला हात खुट्टा भाँचेर गोली हानिएको अवस्था छ । के गोली हानेपछि हात खुट्टा भाचिएको त हैन होला! यो कसरी मुठभेड हुनसक्छ ?’

शर्माले यस्ता घटनाले विद्रहो जन्माउने बताए । ‘यस्ता घटनाले विद्रोहलाई सहयोग गर्छ’, उनले भने,‘जनतामा असन्तुष्टि आउँछ ।’ यो घटनाले माओवादीले गरेको दश वर्षे जनयुद्धका क्रममा अप्रेसनका नाममा तत्कालीन समयमा प्रहरीले आफ्ना सहयोद्धाको हत्या गरेको समेत सम्झिए । उनले यस्ता घटना घटाउनअघि न्यूनतम मानवअधिकारको कार्यान्वयन गर्न प्रहरीलाई आग्रह गरे।

‘हामीले गल्ती गर्नेलाई कारवाही नगर्नु नभनेको हैन’, उनले भने, ‘तर कारवाही गर्दा हामीले बनाएको संविधानमा रहेर गर्नुपर्छ । हत्या गर्न मिल्दैन ।’ पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले गृहमन्त्री थापाले दिएको जवाफ मन पराएनन् । ‘उहाँको जवाफ औपचारिक हो । तलबाट जे रिर्पोट आयो त्यही भन्नुभयो’, उनले भने, ‘म यो बुझ्छु ।’

उनले विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याएर समस्यको समाधान गर्नुपर्ने बताए । नेता शर्माले विप्लवप्रति सरकारले लगाएको प्रतिबन्धप्रति पनि असन्तुष्टि जनाए ।

अन्नपूर्ण पोस्ट

Leave A Reply

Your email address will not be published.