मुस्लिम समुदायले आज इद उल फित्र पर्व भव्य रुपमा मनाउँदै

0

राष्ट्रपतिद्वारा एकता र सहिष्णुताको कामना

काठमाडौँ – अरबी पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बुधबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदले जनाएको छ ।

यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सो दान पनि गरिबलाई नै दिइन्छ ।

मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सकिएपछि यो वर्ष मनाउने गर्छन् । एक वर्षभित्र गरिएका पाप कटाउन रोजा गरिने उनले बताए ।

एक महिनासम्म दिनभर व्रत गरेर साँझ त्राविको पूजा गरिएको थियो । पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।

यसैबिच, इस्लाम धर्मावलम्बीको महान चाड ‘इद उल फित्र’ का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा सम्पूर्ण इस्लाम धर्मालवम्बीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा यस पर्वले सबै समुदायका नेपालीबिच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न इद उल फित्रको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.