काठमाडौं इंग्लिस क्लब लिभरपुलले १४ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको फाइनल खेलमा लिभरपुलले लिग प्रतिस्पर्धी टिम टोटनह्यामलाई २–० ले हराउँदै युरोपियन च्याम्पियन बनेको हो ।
यससँगै लिभरपुलले छैटौंपटक यो उपाधि जित्दा पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको टोटनह्यामको उपाधि जितेर इतिहास रच्ने सपना भने चकनाचुर भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले खेल सुरु भएको दोस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बक्सभित्र टोटनह्यामका खेलाडीले ह्यान्ड बल गरेपछि पाएको पेनाल्टीमा मोहमद सालाहले गोल गरेर टिमलाई १–० को अग्रता दिलाएका थिए ।
त्यसपछि खेलमा फर्किन संघर्षरत टोटनह्यामले लगातार संघर्ष जारी राखे पनि पहिलो हाफमा उसले गोल गर्न सकेन । र, लिभरपुलले १–० को अग्रता लियो ।
त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन आक्रामक खेल खेलेको टोटनह्यामले लगातार लिभरपुलको पोस्टमा आक्रमण गरे पनि ब्राजिलियन गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै टोटनह्याम गोल गर्न असफल भयो ।
त्यसैक्रममा खेलको ८७औं मिनेटमा लिभरपुलका लागि सब्सिच्युट खेलाडी डिभोग ओरिगीले गोल गरे । उनी खेलको ५८औं मिनेटमा रोवर्ट फर्मिन्होको स्थानमा मैदान छिरेका थिए । डिभोग उनै खेलाडी हुन्, जसले सेमिफाइनलमा बार्सिलोनाविरुद्ध ४–० को जित निकाल्दा २ गोल गरेका थिए ।
अन्तिम समयमा २–० ले पछि परेको टोटनह्यामले त्यसपछि गोल गर्न सकेन । र, सहज जितसहित उपाधि लिभरपुलले जित्यो ।
लिभरपुल गत सिजन स्पेनिस रियल मड्रिडसँग फाइनलमा हारेको थियो । सो वर्ष रियलले लिभरपुललाई ३–१ ले हराएर लगातार तेस्रोपटक उपाधि जितेको थियो ।
यससँगै लिभरपुलले १४ वर्षपछि युरोपियन उपाधि घर फर्काउन सफल भएको छ । उसले यसअघि सिजन २००४÷०५ मा इटालियन एसी मिलानलाई हराएर यो उपाधि जितेको थियो ।