केसी र यादवविरुद्ध आरोपपत्र

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अध्यक्ष केसीले जिविससँग गरेको सम्झौताका सर्त पालना नगरी जिविसको कार्यालयबाट सडक निर्माण प्रयोजनका लागि करिब रु २१ लाख ७७ हजार भुक्तानी लिएकामा भुक्तानी लिएबमोजिमको काम सम्पन्न नगरी उपभोक्ता समितिको राष्ट्रिय वाणिज्य बैंक गोरखा शाखामा रहेको करिब रु १० लाख २३ हजार अनियमितता गरेको पुष्टि भएको आयोगको जिकिर छ ।
त्यसैगरी आयोगले सेवाग्राहीसँग रु १० हजार घुस लिँदै गर्दा थलामा नै पक्राउ परेका मोरङस्थित सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका इन्जिनियर चन्देश्वरी यादवविरुद्ध आजै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
टङ्कीसिनवारी गाविस–२ स्थित महिला समन्वय समितिको भवन निर्माण गर्न निकासा भएको रकम लिन जाँदा इन्जिनियर यादवले सेवाग्राहीसँग रु १० हजार घुस लिँदालिँदै आयोग टोलीले समातेको थियो ।

Leave A Reply

Your email address will not be published.