संविधान संशोधन प्रक्रिया चाँडो अघि बढ्छ : खनाल

0

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगित भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा खनालले मधेसी मोर्चाको सुझावअनुसार भ्रमण स्थगित गरिएको र दसैँअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधन प्रस्ताव दर्ता गर्नका लागि मात्रै नभएर यसले निकास दिनेगरी अघि बढाउन सरकार गम्भीर रहेको बताउँदै संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलबीच छलफल भइरहेको छ भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले संविधानमा असन्तुष्ट पक्षको चासोलाई सम्बोधन गर्नुपर्ने बताउँदै स्थानीय निकायको चुनाव घोषित मितिमै सम्पन्न गर्नका लागि पुरानै सङ्ख्यालाई आधार मानेर चुनावमा जानुपर्ने सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले एमालेबिना संविधान संशोधन हुनै नसक्ने हुँदा प्रमुख दल एक ठाउँमा आउनुपर्ने बताउँदै प्रदेशको सीमाङ्कन त्यहाँको जनतालाई नै सोधेर गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले मधेसी मोर्चाले भनेजस्तो नागरिकताको प्रावधान संशोधन हुनै नसक्नेमा पनि जोड दिनुभयो ।

नेकपा (एमाले)का नेता सत्यनारायण मण्डलले राष्ट्रिय राजनीतिमा एमालेलाई एक्ल्याउने काम भएकोमा चिन्ता व्यक्तगर्दै एमाले मधेस, पहाड र हिमालमै आधारित पार्टी भएको बताउनुभयो ।

उहाँले मधेसी मोर्चाले भनेजस्तै नागरिकताको प्रावधानमा संशोधन हुनै नसक्ने र जनसङ्ख्याको नाममा भूगोललाई समाप्त पार्ने काम आफ्नो पार्टीले कुनै हालतमा नमान्ने विचार व्यक्त गर्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले संविधानमा ५२ वटा धारा उपधारा बाझिएको बताउँदै प्रदेशको सीमाङ्कन, लैङ्गिक विभेदको अन्त्य, नागरिकता, भाषिक समस्या, समावेशी समानुपातिक, राष्ट्रिय सभा, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र, न्यायपालिका, आयोग गठन लगायतका प्रावधानमा संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.