म्याग्दीको बेगखोलामा एक घर बगायो

0

बेनी । शनिबार रातिको वर्षाले उत्तरी म्याग्दीको बेगखोला–६ मा एउटा घर बगाएको छ । नदी कटानले जोखिममा परेको स्थानीय नन्दप्रसाद भट्टचनको कच्ची घर बगाएको हो । कटानले तीन घर उच्च जोखिममा परेका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार कुमारी गर्बुजा, सुनमायाँ सिङ्जाली र झिल्के श्रेष्ठका घर जोखिममा छन् ।

बेनी–जोमसोम जोड्ने अस्थायी मार्गलाई समेत ठाडोखोलाले जोखिममा पारेको छ । बाढी र नदी कटानले पारेको जोखिमको अवलोकन गर्न प्रजिअ केशवराज आचार्य, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थलमा पुगेको छ ।

बाढीले विद्युत्को पोलमा समेत असर गरेपछि त्यसलाई मर्मत गर्न प्राधिकरणको टोलीसमेत बेगखोला गएको बाढी पीडित व्यवस्थापन समितिले जनाएको छ । साँझपख लगातार फेरि वर्षा हुँदा खोलाको सतह घट्न सकेको छैन ।

आवतजावतका लागि बनाइएको संरचनामा समेत क्षति पुगेपछि उत्तरी क्षेत्रका बासिन्दा जोखिमपूर्ण तरिकाले खोला वारपार गरिरहेका छन् ।

यसैबीच, बेगखोला–१, बेग र लिस्ने गाउँमा पहिरो गएपछि २७ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएपनि दीर्घकालीन पुनःस्थापनाको पहल गर्न स्थानीयले माग गरेका छन् । सिङ्गो वस्ती नै धाँजा फाट्दै तल सरेको र गाउँको मुनिबाट पहिरो जान थालेको छ ।

Leave A Reply

Your email address will not be published.