तरुण दलको महाधिवेशन सरेको स-यै

0

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन मिति पुनः सरेको छ । महाधिवेशन मितिसम्म जिल्ला अधिवेशन भइनसक्ने देखिएपछि मिति केही पछाडि सर्ने निश्चित भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी गराउनुभयो । तरुण दलको हालसम्म ६२ जिल्लामा अधिवेशन भएको र बाँकी जिल्लामा दसँैतिहारपछि मात्र अधिवेशन हुने सम्भावना रहेको महाधिवेशन निर्देशन समितिले जनाएको छ ।

महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा गर्ने भनिएकामा तरुण दल स्थापना दिवसको दिन कात्तिक १० गतेलाई मध्यनजर गरी मिति निर्धारण हुने बताइएको छ ।

यसअघि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो ।

दुई काँग्रेस एकीकरणपछि २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन । अधिवेशन हुन बाँकी जिल्लामध्ये कतिपय जिल्लामा समानान्तर समिति छन् भने कतिपयमा गुटको विवाद छ ।

तरुण दलको आगामी नेतृत्वका लागि हालसम्म ऐम गुरुङ, राधा घले, जन्मजय तिमिल्सिना, नारायण भट्टराई, दामोदर कोइराला, कर्ण मल्ल, टेकराज पौडेल, लक्ष्मी खतिवडा, उत्तम चापागार्इं, निरञ्जन केसी, नागेश्वर यादव, पदम पालङ्गवा, खिममान रायमाझी, मेदिनी सिटौला, पूर्ण गुरुङलगायत आकाङ्क्षी देखिनुभएको छ । उहाँहरुमध्ये अधिकांश मौजुदा केन्द्रीय समितिका सदस्य हुनुहुन्छ ।

मौजुदा तदर्थ केन्द्रीय समिति गठनका बेला समितिका कसैले पनि आगामी महाधिवेशनको निर्वाचनमा उठ्न नपाउने पार्टीको प्रावधान छ । तरुण दलको हालको विधानानुसार महाधिवेशनका लागि मुलुकभरबाट एक हजार ३७० प्रतिनिधि रहनेछन् । हाल केन्द्रीय समिति ४५ सदस्यीय भएकामा विधानमा ६१ सदस्यीय समिति रहने प्रावधान रहेको केन्द्रीय सदस्य राम रोकायाले जानकारी दिनुभयो ।

विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहनुभएको थियो । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो ।

विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापना भएको घोषणा गर्नुभएको थियो । त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र हाल उदयशम्शेर राणाले नेतृत्व सम्हाल्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.