नाजायज मागमा संविधान संशोधन हुँदैन : सचिव ज्ञवाली

0

भक्तपुर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले मधेसवादी मोर्चाको जायज मागका बारेमा संविधान संशोधन भइसकेकाले अब संविधान संशोधन गर्न आवश्यक नरहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जायज माग बाहेक केही नेताहरुको स्वार्थ पूरा गर्न संविधान संशोधनका लागि एमाले कदापि तयार नहुने बताउनुभयो ।

मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको माग नभएको जिकिर गर्दै उहाँले अब फेरि संविधान संशोधन गर्नु गलत रहेको बताउनुभयो ।
संविधान संशोधनका लागि नेपाली भूमिमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत मधेसी जनताको माग नभई केही नेताकै माग भएको उहाँको तर्क थियो ।

विगतमै तीनै निर्वाचनको मिति तय भए पनि वर्तमान सरकारमा रहेको गठबन्धन विभिन्न बहानाबाजी गरी निर्वाचन नगर्ने खेलमा लागेको उहाँको आरोप थियो ।

निर्वाचन पर धकेल्दै संविधान कार्यान्यवन समेत नगर्ने षड्यन्त्र भइरहेको आशङ्का उहाँले प्रकट गर्नुभयो । ओली नेतृत्वको सरकारले गरेका काम र निर्णयलाई वर्तमान सरकारले उल्टाउँदा राजनीतिक दलबीचको दूरी बढ्ने र राजनीतिक द्वन्द्व चर्कने उहाँले बताउनुभयो ।

राजनीतिक दलहरु बाह्य हस्तक्षेप रोक्न एक हुनुपर्ने उहाँको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.