रोकियो संसदमा प्रधानमन्त्रीको सम्बोधन

0

काठमाडौं । भूकम्पपीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने प्रमुख विपक्षी नेपाली कांग्रेसको माग पूरा गर्न सरकार तयार नभएपछि व्यवस्थापिका–संसदको शुक्रबारको बैठक पनि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले संसदलाई सम्बोधन गर्ने भनिएपनि कांग्रेसले असहमति जनाएपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
शुक्रबार बस्ने संसदको बैठकमा भूकम्पपीडितका लागि राहत र पुनःस्थापनाकाबारेमा भएको प्रगतिबारे सरकारका तर्फबाट जवाफ दिन सभामुख ओनसरी घर्तीले विहीबार नै निर्देशन दिएकी थिइन् ।
सोहीअनुसार संसद बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली संसद भवन नयाँबानेश्वर पुगेका थिए । तर, सत्तापक्ष र विपक्षबीच भएको छलफल सकारात्मक नभएपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रममात्रै स्थगित भएन संसदको बैठक नै स्थगित हुनपुग्यो ।
भूकम्पपीडितलाई एकमुष्ठरुपमा २ लाख दिनुपर्ने, राहतमा राजनीति गर्न नहुने माग राख्दै विहीबारको बैठक कांग्रेसले अवरुद्ध पारेको थियो । प्रधानमन्त्री ओलीले खाजा बाँडेजस्तो २ लाख एकैचोटी बाँड्न नसकिने र किस्ताबन्दीरुपमा नै अनुदान रकम दिने अडान राखेपछि सहमति नभएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सरकारले भने विगतका नीति–नियमका कारण एकैचोटी अनुदान रकम दिन अप्ठेरो पर्ने जनाएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले नै किस्ताबन्दीरुपमा अनुदान रकम दिने निर्णय गरेकाले आफ्नो निर्णयप्रति कांग्रेस इमान्दार हुनुपर्ने कानुनमन्त्री अग्नि खरेलको भनाइ छ । आफूहरु प्रधानमन्त्रीको भाषण सुन्न संसद आएको नभइ प्रधानमन्त्रीको प्रतिबद्धता खोजेको हुनाले प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिइएको नेता महतले स्पस्ट पारे ।

Leave A Reply

Your email address will not be published.