मौसम विचार गरेर मात्र उड्नुस्

0

चीनको एक प्रमुख जहाज निर्माण कम्पनी एभिक (एभिएसन इन्डस्ट्रिज चाइना)मा कार्यरत वरिष्ठ विमान चालक चाओ फेङ देले नेपाली विमान चालकलाई मौसमको विचार गरेर मात्र उडान भर्न सुझाउनुभएको छ । नेपालका लुक्ला, जुफाल, जोमसोम लगायत विकट क्षेत्रमा निरन्तर सात वर्ष विमान चलाएका चाओले भन्नुभयो–“नेपाल सानो देश भए पनि छिटो छिटो परिवर्तन हुने मौसम विमान चालकका लागि ठूलो चुनौती हो ।” उहाँले नेपालको यस्तो विशेषता आफूले सात वर्षको नेपाल उडानका क्रममा महसुस गरेको स्मरण गर्दै भन्नुभयो–“सुन्दा यो सुझाव सामान्य लाग्न सक्छ तर उड्नुअघि सबैतिरको मौसमको विचार गर्न सक्दा पनि धेरै दुर्घटनाबाट बच्न सकिन्छ ।”
सन् २००१ देखि एयर ड्र्यागनको विमान चलाउनुभएका उहाँले नेपालमा पछिल्लो समयमा बढ्दै गएको जहाज दुर्घटनाका सन्दर्भमा सो सुझाव दिनुभएको हो । ‘नेपाल सानो छ, त्यहाँको मौसम पनि संसारको तुलनामा अलौकिक र राम्रो छ तर छिटो छिटो परिवर्तन हुने र थोरै दूरीमा पनि फरक मौसम हुनु पनि हवाई यातायातका लागि भने चुनौती हुने गर्छ’– उहाँको भनाइ छ ।
उहाँले उडानका समयमा कहिलेकाहीँ एअरलाइन्सको व्यवस्थापन तथा राजनीतिक तथा सरकारी दबाब पनि आउने गरेकाले यस्ता कुनै दबाबमा नपर्न पनि विमान चालकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“कहिलेकाहीँ यस्तो दबाबको कुरा पनि सुनिन्छ तर पनि उडानको अन्तिम अधिकारी विमान चालक हुनुपर्छ र यस्ता कुनै विषयमा ध्यान दिनु हँुदैन ।” नेपालमा विमान दुर्घटना बढ्दै गएकामा उहाँले निकै चिन्ता गर्नुभयो । उहाँले नेपालका कैयौँ विमान चालकलाई तालिम दिनुभएको तथा कैयौंँ पटक नेपाली विमानको परीक्षण उडान सम्पन्न गर्नुभएको छ ।
उहाँले त्यस समय नेपालमा सोही विमान कम्पनीद्वारा निर्मित वाई १२ जहाज उडाउनुभएको थियो । नेपाल ल्याउनका लागि चीनमा निर्मित वाई १२ जहाज नेपालका लागि उपयुक्त हुने भन्दै उहाँले थप्नुभयो–“निकै छोटा छोटा मात्र उडान भए पुग्छ र त्यसका लागि यो जहाज ठीक छ ।” उहाँ उक्त कम्पनीको प्रमुख विमान चालक हुनुहुन्छ । हाल सो कम्पनीबाट १८ देशका ४० भन्दा बढी एअरलाइन्सले विमान खरिद गरी सञ्चालन गरिरहेका छन् र उहाँ ती अधिकांश विमानको परीक्षण उडान गर्नुहुन्छ ।
नेपालका विमानस्थल साना र धावन मार्ग छोटा वा साँघुरा छन् भने खोँच र अग्ला पहाड पनि नाघेर उड्नुपर्ने भएकाले नेपालका लागि यी साना विमान नै उपयुक्त हुने उहाँको भनाइ छ । पहिलेको तुलनामा हालैका वर्षमा विमान दुर्घटना दर नेपालमा बढ्दो देखिनु चिन्ताको विषय हो भन्दै उहाँ भन्नुहुन्छ–“पहिलो र मुख्य त मौसम नै हो र यदि यस बाहेकका अरू पनि कारक छन् भने यिनको खोज–अनुसन्धान समयमै र व्यापक मात्रामा गर्नु जरुरी छ ।”
“मलाई नेपाल प्यारो र अति सुन्दर लाग्छ, नेपाललाई मन पराउने र नेपालीलाई माया गर्ने संसारका धेरै देश छन्”– उहाँले भन्नुभयो । नेपालजस्तो भौगोलिक विकटता र विविधतायुक्त देशमा जहाज उडाउनु बडो चुनौतीको विषय रहेको बताउँदै उहाँले भन्नुभयो–“छोटै दूरीमा छिटो छिटो फेरिने फरक मौसमलाई नै चालकले पहिलो प्राथमिकतामा राख्नु जरुरी छ ।”
“विमान उडाउनुअघि गरिने जहाजको पूर्वजाँच पनि अर्काे महत्वपूर्ण काम हो र यसतर्फ पनि चालक नै बढी सचेत र सजग हुनु जरुरी छ”, उहाँले भन्नुभयो । तीन दशकभन्दा बढी विमान उडाउनुभएका ६७ वर्षीय अनुभवी विमान चालक चाओ भन्नुहुन्छ–“विमान चालकले नै जतिसुकै ढिला भए पनि धैर्य गरी विमानको पूर्वजाँच गर्ने र आफ्नो स्वविवेकको अगाडि कहिल्यै कसैको दबाबमा नपर्नाले ठूला दुर्घटनाबाट जोगाउन सकिन्छ ।

Leave A Reply

Your email address will not be published.