विश्वभर छरिएका नेपाली लगनशील परिश्रमी : अध्यक्ष घले

0

बेल्जियम- गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले तेज तीव्र गतिमा विकास भइरहेका विश्वका मुलुकहरुबाट नेपालीले सिक्नु पर्ने बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले लुभेनमा आयोजना गरेको नेपाली मेलालाई सम्बोधन गर्दै आइतबार उनले संसारभर विभिन्न मुलुकमा पुगेका नेपालीले त्यहाँ धेरै कुराहरु सिकेर, व्यवहारिक जीवनमा उतार्न सक्ने भन्दै उनीहरुबाट नयाँ आविस्कार सिकेमा नेपालीको जीवनयापन सहज हुने उल्लेख गरे।
‘हामीसँग आफ्नै पहिचान छ। अरुसँगबाट पनि केही सिक्छौं भने त्यसपछि जीवनयापन अझ सजिलो हुन्छ’, उनले भने, ‘अन्य समाजसँग पनि घुलमिल हुन सके, विविधताबीच एकता कायम हुन सक्छ। यसले व्यक्ति, परिबार,समाज, राष्ट्र र विश्वलाई झनै बलियो बनाउँछ।’
घलेले नेपाली कला संस्कृति,सम्पदा तथा पहिचानको लागि मेला आँफैमा साँचो बिचार भएको बताए। डायस्पोरामा गरिने कार्यक्रममध्ये नेपाल झल्कने तथा पर्यटक प्रवर्धन गरिने मेला, महोत्सवहरु प्रभावकारी एबम् प्रमुख कार्यक्रम हुने बताउँदै घलेले एनआरएनए बेल्जियम तथा सहकार्य गर्ने संघ संस्थाहरुप्रति आभार प्रकट गरे।
विश्वभर रहेका गैर आवासीय नेपालीहरु मेहनती,परिश्रमी र शिक्षित समेत रहेको बताउँदै घलेले बिदेशी समाजमा घुलमिल हुन सजिलो हुनेगरेको बताए। उनले बेल्जियममा रहेका गैर आबासीय नेपालीहरुले पनि धेरै अवसर प्राप्त गरेको भन्दै यहाँको नेपाली समुदाय निकै अगाडि रहेको उल्लेख गरे।
कार्यक्रममा बेल्जियमका पूर्वगृहमन्त्री एंव लुभेन नगरपालिकाका मेयर लुइस तवाक लगायत अन्य बिभिन्न राजनीतिक दलका नेता एवं सांसदहरु, बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेल,गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायतको उपस्थिति रहेको थियो।
नौमती बाजा सहित, बिभिन्न झाँकीहरुको प्रदशनीले लुभेन नेपालमय बनेको थियो। मनै लोभ्याउँने ढाका टोपी,गुन्युचोली,बिभिन्न जातजातिका भेषभूसामा सजिएर नेपालीहरु मेलामा सहभागी बनेका थिए। एक दिने महोत्सवमा नेपाली कला संस्कृति, नेपाल पर्यटनसम्वन्धी जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्री वितरण साथै नेपाल र नेपालीलाई यूरोप तथा विश्व सामू चिनाउने गरी बिभिन्न स्टलहरु राखिएका थिए।

Leave A Reply

Your email address will not be published.