नेकाको १३औँ महाधिवेशन भोलिदेखि सुरु हुँदै

0

काठमाडौं । ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३आँै महाधिवेशन काठमाडौँमा भोलिदेखि सुरु हुँदैछ । बाह्रौँ महाधिवेशन सम्पन्न भएको करिब पाँच वर्षपछि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान जारी भएपछि सुरु हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । १२आँँै महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडाँैमा नै सम्पन्न भएको थियो । सो महाधिवेशनले पार्टी सभापतिमा सुशील कोइरालालाई निर्वाचित गरेको थियो ।
स्थापनाको करिब सात दशक पूरा गर्न लाग्दासम्म अधिकांश समयावधि कोइराला परिवारबाट नेतृत्व हुँदै आएको काँग्रेसले यस अधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्नेछ । महाधिवेशनको अन्तिम तयारी हुँदै गर्दा माघ २६ सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि यो महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ सर्वत्र चासोका रुपमा हेरिएको छ ।
महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले खुलामञ्चमा भव्य समारोहमा बिहीबार दिउँसो गर्नुहुनेछ । महाधिवेशनको उद्घाटन पार्टी सभापतिबाट नै गरिने काँग्रेसको परम्परा रहिआएको छ । महाधिवेशन फागुन २३ गतेसम्म चल्नेछ । मञ्चको तयारी अन्तिम चरणमा पुगेको छ । देशका प्रमुख राजनीतिक दलका नेताहरुको समेत सहभागिता हुने सो उद्घाटन सत्रमा विदेशबाट आएका पाहुनाले समेत भाग लिनुहुनेछ ।
भारतको कलकत्ताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसका रुपमा पहिलो महाधिवेशन भएको काँग्रेस अनेकाँै राजनीतिक घटनाको नेतृत्वकर्ता र साक्षी बन्दै काठमाडौँ महाधिवेशनको संस्करणसम्म आइपुगेको हो ।
विसं २००६ चैत २७ गते चौथो महाधिवेशनका अवसरमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस एक भई नेपाली काँग्रेसको जन्म भएको हो । राणाशासन, पञ्चायती व्यवस्था र राजाको निरङ्कुश शासनविरुद्ध लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व गरेको काँग्रेसको यो महाधिवेशन सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भएपछि भने पहिलो महाधिवेशन हो ।
काँग्रेसले इतिहासका कालखण्डमा गरेका प्रजातान्त्रिक सङ्घर्ष, यसबाट प्राप्त उपलब्धि र भावी दिशाबोधलाई सम्बोधन गरी उपसभापति रामचन्द्र पौडेलले महाधिवेशनमा प्रस्तुत गर्न नीति तथा कार्यक्रम तयार गर्नुभएको छ । नीति तथा कार्यक्रममा परिवर्तित सन्दर्भमा काँग्रेसका मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पुनः परिभाषित गर्नुभएको छ । नीति तथा कार्यक्रमले पार्टी सङ्गठनलाई अझ बलियो तथा चुस्त बनाउँदै देशको आर्थिक, समाजिक कायापलट गर्ने उल्लेख भएको छ । साथै आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा पार्टीले खेल्ने भूमिका बारेमा पनि संश्लेषण गरिएको छ ।
महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ । काँग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् ।
त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । पछिल्लो पटक क्षेत्रीय अधिवेशन सकिएका र विवाद रहेका गरी १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ । महाधिवेशनमा भाग लिन प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको छ ।
यी प्रतिनिधिले समसामयिक राजनीतिक, सङ्गठन, विदेश लगायतका काँग्रेसले लिने नीति तथा कार्यक्रम पारित गर्नेछन् । उसो त नीतिमा भन्दा नेतृत्वमा बढी समय खर्चिने प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्वको भाग्योदयसमेत गरिदिनेछन् ।
अघिल्लो महाधिवेशनले व्यापक रुपमा समावेशीकरण गरेको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन पदाधिकारीसहित ६४ जनाको निर्वाचन हुने कार्यक्रम रहेको छ । यस महाधिवेशनमा पार्टीले महिला, दलित, आदिवासी जनजाति, अल्पङ्ख्यक, सीमान्तकृत समुदायलाई व्यापक रुपमा समावेशीकरणसमेत गरेको छ । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने हुनेछ । निर्वाचन प्रक्रिया फागुन २३ गते हुने कार्यक्रम रहेको छ । राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्ने हुनाले सभापति, महामन्त्री तथा कोषाध्यक्षजस्ता शीर्ष तहमा हालसम्म कसैले पनि उम्मेदवारी सार्वजानिक गर्नुभएको छैन । तर कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि अलगअलग समूहमा उम्मेदवारी दिनुहुने निश्चित देखिन्छ । सर्वसम्मत रुपमा सहमति नभएपछि उहाँहरु चुनावी प्रतिस्पर्धामा होमिन लाग्नुभएको हो ।
काँग्रेसको दोस्रो महाधिवेशन २००४ मा बनारसमा, तेस्रो महाविधेशन २००५ मा भारतको दरभङ्गामा, चौथो भारतकै कलकत्तामा २००६ चैत २७ मा पाँचौँ अधिवेशन २००९ साल जेठमा जनकपुरमा सम्पन्न भएको थियो । यसैगरी छैटौँ महाधिवेशन २०१२ माघमा वीरगन्ज, विशेष अधिवेशन २०१४ मा विराटनगर र सातौँ महाधिवेशन २०१७ साल वैशाखमा काठमाडौमा भएका थिए । साता महाधिवेशन ३१ वर्षपछि आठौँ महाधिवेशन २०४८ मा फागुनमा झापामा, नवौँ महाधिवेशन २०५३ मा काठमाडौँ, दशाँै महाधिवेशन २०५७ मा पोखरा, ११आँ महाधिवेशन २०६२ भदौ १४ देखि १७ गतेसम्म काठमाडौँ र १२आँै महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडाँैमा नै सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.