प्रम ओलीबाट बुङ्मतीमा पुनःनिर्माण महाअभियान सुरु

0

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण महाअभियान ललितपुरको बुङ्गमतीस्थित ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण रातो मच्छिन्द्रनाथ मन्दिर परिसरबाट शुभारम्भ भएको छ । महाअभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातत्व विभागको मापदण्ड, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक तथा युएन ह्याबिट्याटको प्राविधिक सहयोगमा कला एवम् संस्कृति पुरानै झल्किनेगरी भूकम्प प्रतिरोधी भवन निर्माण गरिने जानकारी दिनुभयो ।
“भूकम्पप्रतिरोधी संरचना निर्माणमा छिटो ध्यान दिने, यसरी निर्माण गरिएका संरचनाको वरपर खुला स्थानको व्यवस्था गर्ने, आउन सक्ने प्रकोपको पूर्वतयारी गर्ने र पुनःनिर्माणका लागि डिजाइन एवम् प्राविधिक सहयोग उपलब्ध गराउनेतर्फ सरकारले गतिका साथ काम गर्नेछ”– उहाँले भन्नुभयो ।
नेपालको भू–खण्ड बराबर भूकम्प गइरहने किसिमको भएकाले बच्नका लागि सुरक्षित संरचना निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । १२ देखि २२ सेकेन्ड अगाडि भूकम्प आउने सूचना दिने प्रविधि जडानमा पनि सरकारले ध्यान दिने प्रतिबद्धता प्रधानमन्त्री ओलीको थियो ।
पुनःनिर्माण महाअभियानलाई वैशाख १२ सम्म एउटा चरणमा पु¥याउने सरकारको तयारी छ । भूकम्पपछिको पुनःनिर्माणमा भ्रष्टाचार हुन नदिइ तीव्रगतिमा काम अघि बढाउन अनुगमनलाई प्रभावकारी बनाइने पनि उहाँले बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले पुनःनिर्माणको अभियानमा संविधान बनाउन एकजुट भएजस्तै ठूला दलका शीर्ष नेताको एकताको खाँचो भएको औँल्याउनुभयो ।
“राजनीतिक मुद्दा एक ठाउँमा थन्क्याएर भूकम्पपछिको पुनःनिर्माणमा सबै दलको एकता आवश्यक छ, अन्य विषयमा जस्तो पुनःनिर्माणमा सानासाना कुरामा बखेडा निकालिनुहुन्न”– उहाँले भन्नुभयो ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पबाट क्षतविक्षत भएका भवनसँगै संरचनाको पनि पुनःनिर्माण गरिनुपर्नेमा जोड दिनुभयो । “सम्भावित प्रकोपको जोखिम न्यूनीकरणको उपाय पनि सरकारले ल्याउँछ, पुनःनिर्माणको सुरुवात नमुनायोग्य हुनुपर्छ, यसबाट अरुले पनि पाठ सिक्न सकुन्”– उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले एक हजार ५०० वर्षअघिको सांस्कृतिक वैभव, धरोहर, कला र संस्कृति नयाँ बनेपनि उहीरुपमा उतारिने बताउनुभयो । “यस स्थलको पुनःनिर्माण २१ महिनामा सक्ने श्रीलङ्का सरकारसँग सहमति भएको छ, पैसाका कारणले काम रोकिँदैन, पुरातत्व विभागका इन्जिनियरले कोरेको खाकामा स्थानीयले अपनत्व लिने गरी यो सम्पदा पुनःनिर्माण गरिनुपर्छ”– सम्पदा निर्माणका लागि श्रीलङ्का सरकारको सहयोग रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो ।
शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले पुनःनिर्माणमा मन्त्रालयले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि भौतिकसँगै आर्थिक, सामाजिक र सांस्कृतिक पुनःनिर्माणमा पनि ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीको उपस्थितिमा कार्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत रोहित पोखरेल, बुङ्गमती पुनःनिर्माण समितिका संयोजक प्रेमभक्त महर्जन र युएन ह्याबिट्याटका पद्मसुन्दर जोशीले रातो मच्छेन्द्रनाथ परिसरका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
वैशाख १२ गतेको भूकम्पले वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको बुङ्गमतीस्थित सम्पदा क्षेत्रका मठमन्दिर ध्वस्त भएका थिए । भूकम्पले यस क्षेत्रमा सात जना स्थानीयवासीको मृत्यु भएको र ८५१ घर पूर्णरुपमा क्षति भएको सो अवसरमा जानकारी गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.