काठमाडौँ \ कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले विराटनगर किङ्ग्सलाई सात रनले हरायो ।
जितका लागि एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो । विराटनगरका लागि निकोलश कीर्तनले सर्वाधिक ४० रन बनाउनुभयो । ओपनर लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन् सकेनन् ।
बलिङमा कर्णालीका नन्दन यादवले कसिलो बलिङ गर्दै तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा १९ रन खर्चिनुभयो । विपिन शर्माले दुई तथा युनिस ठकुरी, विलियम वसिस्टो र कप्तान सोमपाल कामीले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।कर्णालीका लागि विलियम वसिस्टो र देव खनालले अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
विलियमले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै देवले ४८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।बलिङमा विराटनगरका प्रतिश जिसी चार विकेट लिनुभयो ।
उहाँले चार पुरै चार ओभर बलिङ गर्दै १७ रन खर्चिनुभयो । यस्तै वसिर अहमद र क्रिस सोलले दुई दुई तथा अकिव इल्यासले एक विकेट लिनुभयो । कर्णालीको यो चार खेलमा दोस्रो जित हो । यता चार खेल खेलेको विराटनगरले तेस्रो हार खेपेको छ ।
यसअघि विराटनगरले लुम्बिनीलाई दुई विकेटले हराएको थियो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो । यसअघि शनिबार नै भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।