इथियोपियाले एकैदिन ६० करोड १५ लाख वटाभन्दा धेरै बिरुवा रोपेर रेकर्ड कायम

0

एजेन्सी


इथियोपियाले गएको शुक्रवार एकैदिन ६० करोड वटाभन्दा धेरै बिरुवा रोपेर रेकर्ड बनाएको छ । गत वर्ष इथियोपियाले एकैदिन ५६ करोड वटा बिरुवा रोपेर रेकर्ड बनाएकोमा अहिले आफ्नै रेकर्ड तोडेको हो । रुख रोप्ने देशव्यापी अभियानअन्तर्गत गएको शुक्रवार १२ घन्टामै ६० करोड १५ लाख वटा बिरुवा रोपिएको इथियोपियाका प्रधानमन्त्री डाक्टर अवि अहमदले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बिरुवा रोप्न बालबालिकादेखि वृद्धवृद्धासम्मले देखाएको उत्साहलाई उहाँले धन्यवाद पनि दिनुभएको छ । ‘जुन देशले बिरुवा रोप्छ, त्यसले अर्को पुस्ता दीगो बनाउँछ’ भन्ने नाराकासाथ इथियोपियाले हरित अभियान चलाइरहेको छ । यो वर्षाको मौसममा इथियोपियाले दुई लाख हेक्टर जमिनमा सात अर्ब ५० करोड वटा बिरुवा रोप्ने लक्ष्य राखेको छ ।

कृषि मन्त्रालयले जैविक विविधतालाई बढावा दिँदै माटो र पानीको संरक्षण बढाउने दोहोरो लक्ष्यका साथ आ–आफ्नो क्षेत्रको पारिस्थितिक अवस्थासँग मेल खाने गरी बिरुवा छनोट गरेको जनाएको छ ।  देशभरका एक लाख २० हजार वटाभन्दा धेरै नर्सरीले बिरुवा तयार पारेका छन्, जसमध्ये ५६ प्रतिशत खाद्य र फलफूलका प्रजाति र बाँकी वन विकास र वातावरणीय संरक्षणमा आधारित छन् ।

सन् २०१९ मा इथियोपिया सरकारले ५० अर्ब वटा बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान शुरु गरेकोमा यो वर्षसम्म ४० अर्ब वटा पुग्ने जनाएको छ । झन्डै १३ करोड जना जनसङ्ख्या रहेको इथियोपियाले बाढी, माटोको कटान, वन विनाश र जैविक विविधताको क्षति लगायतका जलवायु परिवर्तनका चुनौतीको सामना गर्नुपरेको छ । यसलाई कम गर्न बिरुवा रोप्ने राष्ट्रिय अभियान चलिरहेको हो ।

Leave A Reply

Your email address will not be published.