सुदूरपश्चिममा गौरा पर्व शुरू

0

सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरू भएको छ । भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ ।

आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गर्ने चलन छ । मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बनाइएको बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नाच्ने गरिन्छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइएको छ ।

शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो । गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न ठाउँमा गौरा कार्यक्रम राखिएको छ ।

Leave A Reply

Your email address will not be published.