सोलुखुम्बुका बाढी पीडितलाई जनही ६५ हजार रुपैयाँ राहत प्रदान

0

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका सोलुखुम्बुका सांसद एवम् रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहनुभएका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति राहत स्वरुप रकम दिएको बताउनुभयो ।

हिजो स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति भएको छ । सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको सांसद शेर्पाले जानकारी दिनुभयो । बाढीबाट एक सय जना विस्थापित भएका छन् ।

नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि पीडितको सहयोगमा जुटेका छन् । बाढीले पक्की पुलमा पनि क्षति भएको छ । बाढीका कारण पुल भत्किएको र बाटो अवरुद्ध हुँदा हिँडेर जान सकिने अवस्था छैन । आज बिहान बाढी भने रोकिएको सांसद शेर्पाले जानकारी दिनुभयो ।

आज बिहान हेलिकप्टरबाट भएको अवलोकनका क्रममा त्यस क्षेत्रमा रहेका चार वटा हिमतालमध्ये सबैभन्दा सानो ताल फुटेको पाइएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । सांसद शेर्पाले भविष्यमा पनि जोखिम हुने भएकाले बस्ती स्थानान्तरण गर्ने सम्बन्धमा तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.