एसईई नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

0

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् ।

बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको नतिजा एक महिनामा प्रकाशित हुनेछ । ग्रेडवृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने विद्यार्थीको सङ्ख्या एक लाख २६ हजार चार सय ७९ रहेको छ । उनीहरुले आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ । नतिजाअनुसार एक सय ८६ जनाले चार जीपीए ल्याएका छन् । जीपीए ३ दशमलव ६० देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या ३१ हजार दुई सय नौ रहेको छ ।

यस्तै ३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ६८ हजार दुई सय ५६ रहेको छ । यस्तै २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ७८ हजार आठ सय ७४ रहेको छ । जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याउने ४१ हजार एक सय ७७ तथा जीपीए २ देखि २ दशमलव ४० ल्याउने दुई हजार नौ सय ५० रहेका छन् । यस्तै जीपीए १ दशमलव ६० देखि दुई ल्याउने विद्यार्थी छ जना रहेका छन् ।

यसैबीच नतिजा सार्वजनिक भएको तीन घण्टा बितिसक्दासमेत आइभीआर, एसएमएस र वेबसाइटमार्फत हेर्न नमिल्दा परीक्षार्थीलाई तनाव भएको छ । परीक्षा नियन्त्रण कार्यालय, नेपाल टेलिकमसहित विभिन्न संघसंस्थाको वेबसाइट, एसएमएस र आइभीआरमार्फत नतिजा हेर्न मिल्ने भनिएको थियो । प्राविधिक काम भैरहेकाले ढिला भइरहेकाे कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.