देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

0

चालू आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार यो पछिल्लो तीन वर्षयताकै कम व्यापार हो ।

गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ कराेड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो ।

यस वर्ष आयात र निर्यात दुवै व्यापार तीन वर्षयताकै कम भएको छ । चालू वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात व्यापार भएको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्ममा १४ खर्ब ८१ अर्ब बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म १७ खर्ब ६३ अर्ब रूपैयाँको आयात भएको थियो ।

यस्तै चालू वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ३९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । गएको वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो ।

समग्रमा व्यापार घटे पनि राजस्व भने बढेको छ । जेठ महिनासम्म भन्सार विभागले तीन खर्ब ८६ अर्ब राजस्व सङ्कलन गरेको छ । गएको वर्षको जेठ महिनासम्म तीन खर्ब ५५ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएकाे थियो । तर यस वर्ष लक्ष्यको तुलनामा भने ६७ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । सरकारले जेठसम्म पाँच खर्ब ७६ अर्ब भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो ।

Leave A Reply

Your email address will not be published.