प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने

0

सङ्खुवासभा \ सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रु गर्नुहुने भएको हो ।

ब्रेक थ्रु कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड मङ्गलबार बिहान ९ बजे अरुण तेस्रोको आम्राङस्थित अडिट २ आइपुग्नुहुने कार्यक्रम रहेको छ । सोही स्थानमा आयोजित कार्यक्रममा ११.८३ किलोमिटर लम्बाई रहेको अरुण तेस्रोको मुख्य सुरुङमा विस्फोट गरी छिचोलिने कार्यक्रम रहेको छ ।

आम्राङमा ब्रेकथ्रु पश्चात् प्रधानमन्त्री हेलिकोप्टरबाट नै चिचिला गाउँपालिका ३ स्थित पुखुवा दोभानको विद्युत गृह निर्माण क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँले निर्माणाधीन विद्युत गृहको अवलोकन पश्चात् औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । कार्यक्रमपछि दिउँसो १ बजे पुखुवाबाट काठमाडौँ फर्किनुहुनेछ ।

अरुण तेस्रो जलविद्युत परियोजनाको ७५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ । यस परियोजनाको मकालु गाउँपालिका ५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । उक्त बाँधबाट ११.८३ किलोमिटर लामो सुरुङ मार्गबाट पानी ल्याई चिचिला गाउँपालिका-३ स्थित पुखुवाको विद्युत गृहबाट विद्युत उत्पादन गरिनेछ ।

एक खर्ब चार अर्ब लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपियाँ आर्थिक लाभ मिल्नेछ । आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रति महिना ३० युनिटसम्म विद्युत निःशुल्क प्राप्त गर्ने छन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने विद्युत विकास सम्झौतामा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.