चीनतर्फको निर्यातमा सुधार, एकै वर्ष चार गुणाले बढ्यो

0

काठमाडौँ \  कोरोना सङ्क्रमणका कारण घटेको चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो ।

यद्यपि कोरोना सङ्क्रमणको असर कम हुन थालेपछि भन्सार नाकासमेत नियमित सञ्चालनमा आएपछि निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार चालु आर्थिक वर्ष आठ महिनासम्म (साउन–फागुन) मा नेपालले चीनतर्फ एक अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । यो २०७९ को सोही अवधिसम्मको तुलनामा करिब चार गुणाले बढी हो । गत वर्ष फागुनसम्म नेपालले ५१ करोड रुपियाँको वस्तु चीनमा निर्यात गरेको थियो । एकै वर्षको अन्तरमा चीनतर्फको निर्यातमा उच्चतम सुधार देखिएको विभागकै तथ्याङ्कले पुष्टि गर्छ ।

विभागका अनुसार फागुनसम्म चीनमा सबैभन्दा धेरै ३१ करोड २२ लाख रुपियाँको गलैँचा निर्यात भएको छ । त्यसपछि टेबल तथा भान्साका लागि उपयोगी वस्तुहरू २५ करोड ३७ लाख रुपियाँको निर्यात भएको छ । नेपाली यार्सागुम्बाको सबैभन्दा ठुलो बजारसमेत रहेको चीनमा फागुनसम्म २२ करोड ८७ लाख रुपियाँको उक्त जडीबुटी निर्यात भएको छ । मुख्य गरी उत्तरी हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको बजार  नेपालसँग सीमा जोडिएका चिनियाँ स्थानीय बजार हुन् ।

यसबाहेक चीनमा पास्ता, फेल्ट, कपडा, काठका सामग्री र वाद्यवादन पनि उल्लेख्य मात्रामा निर्यात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका अनुसार उक्त अवधिमा १४ करोड २८ लाख रुपियाँ बराबरको पास्ता, नौ करोड ३३ लाख रुपियाँ बराबरको फेल्ट, छ करोड ४३ लाख रुपियाँ बरबरको कपडा, छ करोड १९ लाख रुपियाँको काठका सामग्री र पाँच करोड १२ लाख रुपियाँको वाद्यवादन निर्यात भएको छ ।

Leave A Reply

Your email address will not be published.