हेटौँडामा चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु, विभिन्न सेसनमा अन्तरक्रिया

0
 हेटौँडा \ चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौँडामा सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशभरबाट करिब २५० बढी पत्रकार र कलाकारहरू भेला भएका छन् । संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा संघको आयोजनामा ८ गतेसम्म चल्ने भेलामा सिनेमा संवाद, अन्तक्र्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका ११ वटा सेसन सहितको कार्यक्रम सुरु भएको हो ।
भेलाको आइतबार एक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख  मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख लामाले चलचित्र क्षेत्रलाई व्यक्ति र पेसा मात्रै भन्दा पनि राज्यको संस्कृति र पहिचानसँग जोड्नुपर्ने बताइन् ।  उनले चलचित्रले नेपाली कला, संस्कृति, परम्परा र जीवनशैलीलाई उजागर गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबीचको दूरी बढ्दो क्रममा रहेको भन्दै यस्ता भेलाले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए । उनले विगतमा चलचित्र क्षेत्रको विकासमा कलाकर्मी र पत्रकार एकजुट भएर काम गर्ने गरेको स्मरण गराउँदै हातेमालो गरेर अगाडि बढ्न आग्रह गरे ।
यसैगरी, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले कानुन निर्माण गर्ने तयारी गरेको जानकारी दिए । उनले ऐन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मस्यौदा तयार गरिरहेको बताएका थिए । एक वर्षभित्र चलचित्र क्षेत्रमा नयाँपनको महसुस हुने गरी काम गरिरहेको बताउँदै सापकोटाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र पत्रकार र लेखनका लागि कार्यशाला सञ्चालन गरिरहेको पनि बताए ।
कार्यक्रममा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाई, चलचित्र संघका महासचिव नरेन्द्र महर्जन, नेफ्टाका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रिय, विदुर गिरी निवर्तमान अध्यक्ष दिनेश सिटौला, निर्माता आकाश अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, वानका केन्द्रीय उपाध्यक्ष उज्जवल चौलागाई, कलाकार सुशान्त श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम संघका केन्द्रीय अध्यक्ष समीर बलामीको अध्यक्षतामा भएको थियो ।
यी विषयमा भयो अन्तरक्रिया 
भेलामा विभिन्न विषयका सेसन सञ्चालन गरिएको थियो ।  कार्यक्रमको सुरुवातमै संघका पूर्व अध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारिताको ईतिहास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रमा पत्रकार एंव नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बलले टिप्पणी गरिएको थियो ।
त्यस्तै बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती प्रासद सापकोटाले प्रदेश सरकारले निर्माण गर्दै गरेको चलचित्र विद्येयक मस्यौदा बारे कार्यपत्र प्रस्तुत गरिनुका साथै उक्त कार्यपत्रका विषयमा पत्रकार विजयरत्न तुलाधार र सञ्जु राई, निर्माता नरेन्द्र महर्जन र आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफ्नो राय सुझावका साथै प्रतिक्रिया जनाएका थिए ।
यसैगरी भेलामा पत्रकार ध्रव लम्सालले नेपाली चलचित्र उद्योगको अवस्था(हिजो, आज र भोली) भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमा पत्रकार विदुर गिरीले टिप्पणी गरेका थिए ।  अर्को सेसनमा आजको चलचित्र पत्रकारिता र आचारसंहिताको सवालमा प्रेस काउन्सिलका सदस्य ठाकुर वेलबासेले आफ्नो भनाईसँगै टेलिभिजनका महाप्रवन्धक फुलमान बलले आचारसंहिताको कसीमा अबको चलचित्र पत्रकारिता विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरी बृहत छलफल गरिएको थियो । यस विषयमा उठेका सवालको जवाफ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दिएका थिए ।
Leave A Reply

Your email address will not be published.