क्यानडालाई हराउँदा बने तीन कीर्तिमान

0

काठमाडौँ \  क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो ।

नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य हो । यसअघि सन् २०२३ को मार्च ९ तारिखमा खेलिएको पपुवा न्यू गिनीविरुद्धको खेलमा नेपालले दुई सय ९८ रनको लक्ष्य पूरा गरेको थियो । त्यो खेलमा नेपालले पपुवा न्यू गिनीलाई ५२ रनले हराएको थियो ।

केवल ६४ रनमा दुई विकेट गुमाएपछि दबाबमा परेको नेपाललाई त्यसपछि कप्तान रोहित र यू–१९ राष्ट्रिय टोलीका कप्तान देवले जिततर्फ डोर्याएका थिए । यी दुई कप्तानले टोलीका लागि एक सय ५० रनको साझेदारी गरेका थिए । कप्तान रोहितले ८७ रनको योगदान गरे । देवले पनि महत्वपूर्ण ७६ रन बनाए । ओपनर ब्याट्सम्यान अनिल शाहले पनि टोलीको खातामा ५० रन थपेका थिए । भीम सार्कीले २३ र पवन सर्राफले १४ रन जोडेका थिए ।

Leave A Reply

Your email address will not be published.