सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यक : मन्त्री शर्मा

0

काठमाडौं \  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) को आयोजनामा राजधानीमा सुरु भएको २९ औँ सूचना तथा प्रविधि प्रदर्शनी २०८० को उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

‘‘डिजिटल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत् सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासङ्घसँग आग्रह गर्दछु ।’’

डिजिटल नेपाल फ्रेमवर्क २०७६ को कार्यान्वयनमार्फत हरेक क्षेत्रलाई डिजिटाइजेसन गर्दै लैजाने सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै उहाँले डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, अर्थ र सहरी पूर्वाधारमा प्रविधिको प्रयोग बढाउन सकिएमा ठुलो परिणाम दिनसक्ने बताउनुभयो ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले थप्नुभयो, ‘‘हामी यसकै मुख्य सोचमा आधारित रहेर आगामी १६ औँ राष्ट्रिय योजनाको तयारीमा पनि जुटेका छौँ । आगामी पञ्चवर्षीय योजनालाई डिजिटल रूपान्तरणकारी योजनाको रूपमा अघि बढाउनुपर्छ भन्ने सरकारको सोच रहेको छ ।’’

अहिले नेपालमा ठुलो सङ्ख्यामा युवाहरू सूचना प्रविधिको क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अहिले ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन भइरहेको बेलामा नेपाली जनशक्ति देशभित्रै बसेर सूचना प्रविधि सेवा निर्यातमार्फत आर्थिक समृद्धिमा योगदान गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्दै जानु निकै खुसीको कुरा हो । यसबाट एकातिर हामी सूचना प्रविधि उद्योगमार्फत विश्व बिजारमा प्रतिस्पर्धा गर्न सक्ने छौँ भने अर्कोतिर जनशक्ति पलायन रोकेर श्रमिक होइन श्रम र सेवा निर्यातको नयाँ ढोका खोल्न सक्ने छौँ ।’’

Leave A Reply

Your email address will not be published.