सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशका पालिकाहरु आवद्ध हुन थाले

0

मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती पालिकाका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको समझदारीपत्रमा हिजो हस्ताक्षर गर्नुभएको हो । यसअघि देशभरका ४३ वटा पालिकाले कोषसँग समझदारी गरेर काम अघि बढाइसकेका छन् ।

सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि विशेष गरेर तीन प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । पालिकाले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने  र पालिकाभरिका श्रम ऐन लागू हुने क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गर्न पर्ने गरी बाध्यकारी व्यवस्था गर्न सक्छन् ।

यस्तै, पालिकाले आफ्नो अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बन्धित पालिकाले रकम नै हालेर पनि कोषमा आवद्ध गराउन सक्छन् । सामाजिक सुरक्षा कोषबाट औषद्योपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा पाउने कोषले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.