सामाजिक सुरक्षा भत्ताले राउटे समुदायलाई माघी मान्न सजिलाे

0

दैलेख  \  गुराँस गाउँपालिकाले दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा बस्दै आएका राउटे समुदायलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । माघीको किनमेलकाे सजिलाेका लागि गुराँस गाउँपालिकाका उपाध्यक्ष सिवाकुमारी खड्कासहितको टोलीले राउटे समुदायलाई सुरक्षा भत्ता वितरण गरेको हो ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्षअघि गुराँस गाउँपालिका–८ ले स्थानीय नागरिकका रूपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले गुराँस–८ वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

हरेक दुई/तीन महिनामा बस्ती सर्दै गर्ने क्रममा दैलेखको भैरवी गाउँपालिका–४ बाङगेतडामा पुगेका ४१ परिवारका एक सय ३८ जनालाई कात्तिक, मङ्सिर र पुस महिनाको प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले सुरक्षा भत्ता वितरण गरेको गुराँस–८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।

दुई हप्ताअघि न्यानो कपडा वितरण गर्न राउटे बस्ती पुग्नुभएका दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग राउटे समुदायले माघी मान्न सामाजिक सुरक्षा भत्ता पठाइदिन आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.