भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन ‘आदित्य एल वन’ गन्तव्यमा पुग्यो

0

भारतले सूर्यको अनुसन्धानका लागि पठाएको अन्तरिक्ष मिशन आदित्य एल वन आफ्नो निर्धारित गन्तव्यमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साविकको ट्वीटर अर्थात सामाजिक सञ्जाल एक्समा लेख्दै सूर्यको अनुसन्धानका लागि पठाएको आदित्य–एल वान् आफ्नो गन्तव्यमा पुगेको जानकारी गराउनुभएको हो । उहाँले वैज्ञानिकहरूको अथक प्रयासले सबैभन्दा जटिल अन्तरिक्ष मिशन सफल भएको बताउनुभएको छ ।

चार महिनाअघि अर्थात् गएको सेप्टेम्बर २ मा प्रक्षेपण गरिएको आदित्य–एल वान् पृथ्वीबाट झण्डै १५ लाख किलोमिटर टाढा रहेको एल वनको हलो कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एल वान् पृथ्वी र सूर्यबीचको यस्तो बिन्दु हो जहाँ दुवै ग्रहको गुरुत्व शक्ति समान हुन्छ । त्यहाँ रहेको वस्तुलाई दुवैले आफूतर्फ आकर्षण गर्ने क्षमता राख्दैनन् । आफू अडिने स्थानमा पुगेको आदित्य–एल वानले अब पृथ्वीले जसरी नै सूर्यको परिक्रमा गर्नेछ । यो बिन्दुबाट सूर्यग्रहण वा अन्य ग्रहणको समयमा पनि निरन्तर सूर्यको अवलोकन गर्नेछ ।

आदित्यले गर्ने सूर्यको अवलोकन र अध्ययनबाट वैज्ञानिक बुझाइ अझै परिष्कृत हुने र सौर्यमण्डलमा सूर्यको भूमिका बारेको बुझाइ पनि सुदृढ हुने अपेक्षा गरिएको भारतीय अन्तरिक्ष एजेन्सीले जनाएको छ । यसअघि अमेरिकी अन्तरिक्ष निकाय नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएले पनि उस्तै उद्देश्यका लागि सौर्य मिसन पठाइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.