हेटौँडाको सडक विस्तारमा राजनीति नगर्नुसः मुख्यमन्त्री जम्कट्टेल

0

हेटौंडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा बजारभित्रको सडक विस्तारमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले वर्षेनी चुनावी फण्डा र नारा बनाउने र व्यवसायीलाई झुक्याइरहने गरी गरिएको राजनीति अन्त्य गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

वाइपासको अवस्था कन्तविजोग छ, एशियन हाइवे भन्या छ, सधैं सडकमा राजनीति गर्या छ भन्दै आक्रोश व्यक्त गर्नुभई मुख्यमन्त्री जम्कट्टेलले सडक विस्तार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश सरकारको अधिकार भित्र नपरेता पनि प्रदेश राजधानी रहेकाले बजारभित्र सडक विस्तार हुनुपर्ने बताउनुभयो ।

बजारभित्रको सडकमा मात्र नभई भीमफेदी काठमाडौं सुरुङमार्गमा पनि गहिरो राजनीति रहेको बताउनुभयो । उहाँ पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँग सम्झौता गरेकोले प्रदेश सरकारले बनाउन नसकेको बताउनुभयो । कम्पनीले वार्षिक म्याद थप्छ, हामीले त्यहाँ निर्माणका लागि तयार हुन सकिरहेका छैनौ, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो ।

सभामा व्यवसायीको मर्का र समस्यालाई नजिकबाट बुझेको बताउँदै मुख्यमन्त्रीले विकास सम्भव छ, यही सरकारबाट विकासले तीव्रगति लिने बताउँनुभयो । आर्थिक र मौद्रित नीति ल्याएता पनि केही विषयवस्तु परिवर्तन गरिनुपर्नेमा जोड दिनुभयो । नीतिगत रुपमा सच्याएर जानुपर्ने विषयवस्तुमा उद्योग वाणिज्य संघ र सरकार सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

प्रदेश भित्रका ठुला उद्योग र औद्योगिक क्षेत्र प्रदेश मातहत ल्याउन नसक्नुको कारण जग्गा, विद्युत, राजस्व संघीय सरकार मातहत रहनुले उद्योग क्षेत्रमा केही समस्या आइरहेको भन्नुहुँदै प्रदेश सरकारले उद्योग १० ठाउँमा उद्योग ग्राम र कोशेली घर निर्माणको तयारी रहेको बताउनुभयो । पछिल्लो समय लगानी गर्नतर्फ लगानीकर्ताको संख्या घट्नु, निर्यात कम हुनु र व्यापार घाटा हुनुले समग्र उद्योग व्यवसाय क्षेत्रको चिन्ताको विषय बनेको छ, हामीले कच्चा पदार्थ भए मात्र उद्योग सञ्चालन गरिनुपर्छः मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको लक्ष्यमा अब उद्योग वाणिज्य संघको पनि हात रहने बताउँदै उत्पादन र व्यवसायको मोडेल परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोडदिनुभयो । सरकार र नीजि क्षेत्रबाट कृषि, पर्यटन पछि व्यापार व्यवसायको वृद्धि गर्न युवा जनशक्तिलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, महेश बतौंला,राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मुक्तान, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल,  लगायतकाले आफ्नो भनाइ राखेका थिए ।

Leave A Reply

Your email address will not be published.