काठमाडौं \ गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा मनाइने यो पर्वलाई तोला ल्होसार पनि भनिन्छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाई गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्यरूपमा मनाउने गर्दछन् ।
यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।