भूकम्प प्रभावित क्षेत्रमा औषधी अभाव

0

जाजरकोट \  भूकम्प प्रभावित जाजरकोटको जुनीचाँदे गाउँपालिकामा औषधी अभाव भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् ।

चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायत समस्या लिएर बिरामी स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तै फर्कन बाध्य छन् । औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयम्ले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले चिसोले गर्दा बिरामी सङ्ख्या बढ्दै गएको भए पनि औषधी नभएको बताउनुभयो । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ । औषधी नहुँदा उपचार गर्न नसकिएको उहाँको भनाइ छ । स्वास्थ्य संस्थामा सिटामोलसमेत नभएको र बिरामीले निःशुल्क पाउने औषधीसमेत दिन नसकेको शाहीले बताउनुभयो ।

जुनीचाँदे गाउँपालिका–६, दहकरुवा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कमलाकुमारी शाहीले पनि औषधी अभाव हुँदा उपचार सेवा प्रभावित भएको बताउनुभयो ।

उहाँले गाउँपालिकामा औषधीको माग गरे पनि आउन नसकेको जनाउनुभयो । चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । जुनीचाँदे गाउँपालिकाका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थामा औषधीको अभाव रहेको छ । जुनीचाँदे गाउँपालिका सदरमुकाम खलङ्गाबाट सबैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्यधिक चिसो हुने गर्छ ।

जुम्ला, कालीकोट र दैलेखसँग सिमाना जोडिएको यो गाउँपालिकाका विभिन्न वडामा पुग्न यातायातको असुविधा छ । जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले यस वर्ष गाउँपालिकाले अहिलेसम्म औषधी खरिद नगरेको र जिल्लाले औषधी नपठाएका कारण समस्या भएको बताउनुभयो । उता स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले माग गरेका पालिकामा औषधी गइरहेको तर जुनीचाँदेले औषधी नै माग नगरेको दाबी गर्नुभयो । औषधीको स्टक सकिएको भए माग गरेर लैजान सल्लाह दिएको उहाँको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.