इजरायलको आक्रमणका कारण ज्यान गुमाउने प्यालेस्टिनीकाे सङ्ख्या २० हजार नाघ्यो

0

इजरायलको आक्रमणका कारण गाजामा ज्यान गुमाउने प्यालेस्टिनीकाे सङ्ख्या २० हजार जना नाघेको छ ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म २० हजार जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये आठ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् । अझै चार हजार नौ सय जनाभन्दा धेरै बेपत्ता रहेका खबरमा उल्लेख छ । यस्तै नौ हजार जना घाइते भएका छन् ।

सात दिने युद्धविरामबाहेक द्वन्द्व शुरु भएदेखि दैनिक औसतमा तीन सय जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का क्षेत्रीय आपत्कालीन निर्देशक रिचर्ड ब्रेननले मृतकको सङ्ख्या अझै धेरै हुन सक्ने बताउनुभएको छ । गाजाका डाक्टरहरूले कुनै पनि युद्ध क्षेत्रमा मृतकको गणना गर्नु चुनौती भएको भन्दै मृतकको सङ्ख्या उल्लेखनीयरूपमा बढी हुने सम्भावना रहेको बताएका छन् । गाजामा ध्वस्त भएका भवनहरूको भग्नावशेषमुनि गाडिएका वा अस्पतालमा नपुगेका शवहरू निकाल्नै बाँकी छ । यस्तै इजरायलतर्फ झन्डै १२ सय जनाको ज्यान गएको छ ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा सयौँ रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरिहेको छ । गाजा क्षेत्र लगभग ध्वस्त भएको छ । औषधि, खाना, पानी, बासलगायतको चरम अभाव छ । संयुक्त राष्ट्र सङ्घले अहिले गाजामा देखिएको जस्तो भयावह अवस्था र अमानवीयता संसारमा अन्त देख्न मुस्किल भएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.